
काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा मिति नजुधाउन भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति तथा परीक्षा नियन्त्रण कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेविसंघको मुल पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशन र त्रि.विका प्राइभेटतर्फका परीक्षाको समय जुध्न सक्ने भन्दै नजुधाउन ध्यानाकर्षण गराइएको हो ।
नेपाल विद्यार्थी संघका त्रि.वि समितिका उप–सभापति शरणकुमार बस्नेतले सोमबार ध्यानाकर्षण पत्र उपकुलपति र परीक्षा नियन्त्रकलाई बुझाएको बताएका छन् । ध्यानकर्षण पत्रमा नेपाली कांग्रेसको महाधिवेशन मितिसँग परीक्षा नजुधाउन आग्रह गरिएको उनले बताए । कांग्रेसको महाधिवेशन यहि २० भदौदेखि सुरु हुने तय भइसकेको छ । सोही सयममा त्रि.विका प्राइभेटतर्फका वार्षिक परीक्षाहरू सञ्चालन हुने भएकाले चुनावको मिति तोकिएको दिन परीक्षा मिति नपार्न नेविसंघले त्रिविलाई अनुरोध गरेको हो ।
ध्यानाकर्षण पत्रमा यसपटकको कांग्रेस महाधिवेशमा अधिकांश युवा विद्यार्थीहरूले पार्टीको नयाँ क्रियाशील सदस्यता लिने अवसर पाएको र ती युवा विद्यार्थीहरू पनि प्रत्यक्ष रूपमा चुनावमा भाग लिने देखिएकाले ती युवाहरू त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय प्राइभेट तर्फका वार्षिक प्रणालीअन्तर्गत नियमित विद्यार्थीहरू ठूलो संख्यामा रहेकाले नेपाली कांग्रेसको चुनावी मितिमा कुनै पनि परीक्षा नपार्न या नजुधाउन जोडदार माग गरिरहेको छ ।
नेविसंघले १८ भदौ, २७ भदौ, १ असोज, ५ असोज, १० असोज, १० देखि १२ कात्तिक र ९ देखि १३ मंसिरसम्म कुनै पनि परीक्षा मिति नतोक्न आग्रह गरेको छ ।
यी मितिमा परीक्षा सञ्चालन भएको खण्डमा नेविसंघ विद्यार्थीको पक्षमा हुने र आन्दोलनमा उत्रने उपसभापति बस्नेतको भनाइ छ । यसबाट उत्पन्न हुने समस्याको जवाफदेही उपकुलपतिको कार्यालय र परीक्षा नियन्त्रण कार्यालय वा स्वयं उपकुलपति वा परीक्षा नियन्त्रक हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।