
बुटवल– नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरू अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको आरोप लगाउँदै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो ।
एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । उनीहरूले पार्टीको ह्वीप उल्लंघन गरी पार्टीको बेवास्ता गरिएको आरोप छ । त्यसैले उनीहरूलाई कारबाही गर्न माग गरिएको हो । तर, आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरूलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए ।
प्रमुख सचेतक भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म निज बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछाँैं ।’ उनीहरूले कुनै पनि हालतमा संसदलाई चालु गर्न नदिने जनाएका छन् ।
‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ प्रचलित कानुन, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन ।’
०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर निर्वाचन जितेका शाही हाल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री भएका छन् । त्यस्तै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाबाट प्रदेशसभा उपनिर्वाचन जितेकी वलीले एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि माओवादी केन्द्र रोजेकी छन् ।
तर एमालेले भने दुवै जना सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका र नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका सदस्य रहेको भन्दै पार्टीको निर्देशन नमानेकाले निष्कासनको कारबाही गरी प्रदेशसभामा जानकारी गराएको थियो ।
प्रदेशसभा सचिवालयले भने उनीहरू एमाले हो भन्ने प्रमाण नदेखिएको भन्दै पदमुक्त गर्न नमिल्ने जवाफ दिएको छ । एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको भूमिका पदीय आचरणभन्दा बाहिर गएर न्यायाधीशजसरी भूमिका निर्वाह गरेको बताए ।