
काठमाडौं– अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६ सय जना नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले १ भदौदेखि शनिबारसम्म झन्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिएका छन । शनिबार बिहान मात्रै दुई उडानमा क्रमशः २७ र ९ गरी ३६ नेपाली स्वदेश फर्किएका छन् । शनिबार राति पनि केही संख्यामा नेपाली स्वदेश फर्किने उडान तालिका रहेको छ । यो समाचार आइसक्दा सम्भवतः उनीहरू नेपाल आइसक्ने छन् ।
स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानमार्फत आएका हुन् । अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ । नेपाली सेनाले सामाखुसी र इचंगुनारायणमा होल्डिङ सेन्टर बनाएको छ । हालसम्म नेपाल फर्किएकालाई सामाखुसीको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको र आवश्यक परेमा मात्रै अर्को होल्डिङ सेन्टरमा लगिने नेपाली सेनाले जनाएको छ ।
अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै ३२ साउनमा भएको मन्त्रिपरिषद् बैठकले नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो । उक्त बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएको थियो ।
अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरूको उद्धार गर्न सरकारले ३१ साउनमा परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलमा मध्यएसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्रांकित प्रथम श्रेणी वा सोसरहका सदस्य रहेका छन् ।
रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।