
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले अफगानिस्तानमा रहेका नेपालीहरूलाई त्यस्तो ठूलो समस्या नभएको बताएका छन् । उनले हालसम्म १५ सयभन्दा बढीको उद्धार भइसकेको तथ्यांक पेश गरे । उनले भने, ‘अहिलेसम्म १५ सय जना रेस्क्यु भइसकेको छ, अहिले त्यहाँबाट उद्धार गरेर कोही लन्डन, कतार, दुबई, कुवेत, भारतमा छन् ।’
उनले अफगानिस्तानमा रहेका युएस र युएनका कार्यालयमा रहेको नेपालीहरूको कुनै समस्या नभएको बताए । उनले भने, ‘भारतको बाटोबाट गएकाहरूको संख्या यकिन छैन । कतिपयले फोन नम्बर उपलब्ध गराएको अवस्था छ । इगल सेक्युरिटीमा काम गर्नेहरू पनि सुरक्षित छन् । तत्कालै नेपाल सरकारले अफगानसँग वा छिमेकी मुलुकसँग कूटनीतिक तहबाट कुरा गरेर नेपालीहरूको उद्धार गर्नुपर्छ । सरकारले तत्काल बाँकी रेस्क्युका लागि पहल गरोस् ।’
उनले अहिले अफगानिस्तानमा १५ हजारको हाराहारीमा नेपाली रहेको सुनाए । उनले भने, ‘उद्धारको पहुँचमा नभएकाहरूलाई रेस्क्यु हुनुपर्छ । तत्काल त्यहाँबाट ल्याउन नसकिए अहिले नजिकको देशमा लगेर भए पनि अफगानिस्तानबाट रेस्क्यु गर्नुपर्छ ।’