
काठमाडौं–राष्ट्रिय मुक्ति आन्दोलन (रामुआ) नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, ‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पूरा भई १४औँ वर्षमा प्रवेश गरेको छ, यो अवसरमा हामीले एकता घोषणा गरेका छौँ । अब यसलाई आफ्नो उद्देश्यअनुसार अघि बढाउँछौँ ।’
उनले आफूह्रू पार्टीका अभिभावक तथा संस्थापक नेता डा. जयन्तविक्रम शाहको मार्गनिर्देशनअनुसार अघि बढ्ने पनि विश्वास दिलाए । उनले पार्टीले एमसिसीको विरुद्धमा सशक्त रूप्मा आवाज उठाउने पनि जानकारी दिए । त्यस्तै, नेपालवाद, नेपाली जनता र नेपाल राष्ट्रवादलाई स्थापित र विकार गरेर लैजाने पनि उनले सुनाए । त्यस्तै, कार्यक्रममा पार्टीका संस्थापक नेता तथा अधिदलपति डा.जयवन्तविक्रम शाहले पार्टी निर्माणदेखि यहाँसम्मको संघर्ष र उपलब्धिबारे प्रकाश पारेका थिए । उनले भने, ‘हामी कुनै पनि विदेशीको नक्कल नगरी नेपाल राष्ट्रवादको रूप्मा विकास गरेर जानुपर्छ, खासगरी अब जनताबाट निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको सिद्धान्तमा अघि बढ्नुपर्छ ।’
उनले संसद्बाट मन्त्री नभएर विज्ञबाट मन्त्री बनाउनुपर्ने पनि कुरा राखे । उनले भने, ‘सांसदह्रूलाई पावरफुल बनाउनुहुँदैन । संसदीय फोहोरी खेल अन्त्य गर्नुपर्छ ।’ कार्यक्रममा उपस्थित पार्टीका सबै केन्द्रीय सदस्यह्रूलाई प्रतिबद्धता र प्रतिज्ञा गराइएको थियो । डा. जितेन्द्र घिमिरेले आफ्नो पार्टीले देश र जनताको लागि काम गर्ने विश्वास दिलाए । उनले भने, ‘ढिलै भए पनि हामी जनताको हितमा काम गर्छौँ । सानो पार्टीले समयमा काम गर्नेछ ।’ रणनीतिक तथा सचिवालय समितिमा ३१ जना सदस्य रहेको र पार्टीको हाइकमाण्डमा ६ जना रहेको पनि उनले जनाए ।