
चितवन– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकोले विकल्प महाधिवेशन नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्छ, त्यसैले तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ ।‘ उनले सहमतिका लागि भए पनि विशेष महाधिवेशन गर्नुपर्ने बताए । अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उनले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्ने सुझाव दिए ।
क्रियाशील सदस्यताको विवाद मिलाएर महाधिवेशनमा जानुपर्ने भन्दै कांग्रेसको वैधानिकताको विषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै जोखिम बढेको हुँदा अहिलेको अवस्थामा पार्टीको शीर्ष तहले विशेष अधिवेशनको विकल्पबारे सोच्नुपर्ने उनको भनाइ थियो । एमसिसी संशोधन गरेर मात्र पारित गर्नुपर्ने केसीको सुझाव थियो ।