
काठमाडौं– सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही १ साउनदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो ।
बैठकले नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको यही २४ साउनको सिफारिसअनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । नेपाल परराष्ट्र सेवाका राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षत्रीलाई नेपाल परराष्ट्र सेवा राजपत्रांकित प्रथम श्रेणीमा बढुवा तथा नियुक्त गरी परराष्ट्र मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका ०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) नियमावली, ०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा (चौथो संशोधन) नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
सरकारले माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।