

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई नभएको जानकारी गराएका छन् ।
बेलौरी नगरपालिकामा शनिबार आयोजित छलफल कार्यक्रममा उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन ।’ उनले हाम्रो सीमामा विवाद भइरहने भएकाले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताए । उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताएका छन् । उनले समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको बताउँदै सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको बताए ।
मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आमनागरिकलाई तनाव हुने गरेको बताएका छन् । उनले सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताए । बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उनले बताए ।
यसैबीच, कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरूपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘सरकारी विद्यालय खोल्न जति जोड गर्दछौँ । विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन,’ उनले भने, ‘त्यसको समीक्षा हुनु जरुरी छ ।’ सरकारको विद्यालयमा लगानी धेरै छ, लगानीअनुरूपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उनले बताए ।
‘म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्,’ उनले विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेकोमा असन्तुष्ट जनाए । आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ पठाएका हुन् यसको खोजी गरिनुपर्ने पनि उनको सुझाव थियो ।
मुख्यमन्त्री भट्टले घरपछिको शिक्षा दिने ठाउँ विद्यालय रहेको चर्चा गर्नु हँुदै विद्यार्थीमा नैतिकताको पाठ सिकाइनुपर्ने बताए । शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले नयाँ नीति ल्याउन लागेको जानकारी पनि उनले दिए ।
सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य र खेलकूदलगायतका क्षेत्रमा देखिने गरी प्रगति भइरहेको बताएका छन् ।
मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री खड्का तथा प्रदेशसभा सदस्यद्वय महेशदत्त जोशी र कुलवीर चौधरीसहितको टोलीले शनिबार बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल–बुडर सडकखण्ड र दैजी–लिप्ना सडकखण्डको स्थलगत अवलोकन गरेको छ ।