

सर्लाही– नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रीय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरूले आपत्ति जनाएका छन् । सर्लाही जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रीय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गरे ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सर्लाही जिल्लामा क्रियाशील नवीकरण र समायोजनको विषयमा धाँधली भएको छैन । ममाथि लगाइएको आरोप झुठो हो । नयाँ सदस्यताको हकमा क्षेत्रीय सभापतिलाई विधानतः अधिकार दिइएको छ, वडा सभापतिमार्फत जति नयाँ फाराम पठाइयो, त्यसको भरपाई दिइयो । फाराम बुझ्ने काम गर्नुभयो, तर इन्ट्री दिएन । इन्ट्री नदिएको ठाउँमा उल्टै उनले १५० जना आफ्नो मान्छे राखेर इन्ट्री गराए । क्षेत्रीय सभापति दिनेश मिश्रले गल्ती गर्नुभएको छ ।’
उनले आफूले जंगीलाल रायको रोहबरमा फाराम दिएको पनि सुनाएका छन् । उनले भने, ‘अहिले केन्द्रीय कार्यालयमा जो जो साथीहरू धर्नामा बस्नुभएको छ, उहाँहरूले नै गल्ती गर्नुभएको छ । बद्मासी उनीहरूले नै गरेको हो ।’ उनका अनुसार यो विवादको घट्ना सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को भएको सुनाए ।
उनले कागजजात सही भएकोलाई सदस्यता दिनुपर्ने र गलत भएकाहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले आफूले केन्द्रबाट लगेको फाराम लगेर क्षेत्रीय सभापतिलाई बुझाएको उल्लेख गर्दै क्षेत्रीय सभापति मिश्रले ११ वटा वडामा फाराम नै नदिएको र त्यही बचेको फरामलाइ गलत रूपमा प्रयोग गरेको पनि आरोप लगाए ।
उनले ब्रह्मपुरीको वडा नम्बर ७ मा ५९ जना क्रियाशील सदस्यहरूमा ५८ जनाको नाम हटाएर क्षेत्रीय सभापति मिश्रले आफ्नो मान्छेको नाम राखेको दाबी गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य जंगीलाल रायले जिल्ला सभापति नागेन्द्रको भनाइलाई समर्थन गरे । उनले भने, ‘उहाँले भनेको कुरा सही हो ।’ उनले अहिले पार्टी मुख्यालय सानेपामा धर्नामा बस्नेहरूले नै गल्ती गरेको र उक्त गल्ती ढाकछोप गर्नका लागि यस्तो नाटक गरेको टिप्पणी गरे ।
त्यस्तै, केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले पनि जिल्ला सभापतिले भनेका कुराको समर्थन गरे । उनले भने, ‘उहाँको काममा हामी सन्तुष्ट छौँ । बरु, सर्लाहीमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरूलाई समायोजन गर्न हिचकिचाहट भयो ।’ उनले अरु पार्टी त्यागेर कांग्रेसमा आएकालाई स्थान नदिइएको भन्दै गुनासो पोखे ।
कांग्रेस नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले पनि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा.अमरेशकुमार सिंहले आफ्नो क्षेत्रमा नजाने तर काठमाडौंमा बसेर राजनीति गरेको आरोप लगाए । सर्लाहीमा क्रियाशील सदस्यताको विवाद सर्वसम्मतले टुंगो लगाएको पनि उनको भनाइ छ । उनले भने, ‘सर्वसम्मतिले गरेको निर्णयलाई मानेर जानुपर्छ ।’
कार्यक्रममा प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाह, जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह र महासमिति सदस्य अजित सिंहलगायतको उपस्थिति थियो ।