

काठमाडौं– नेपाली कांग्रेसको चौँधौँ महाधिवेशन नजिकिँदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
काठमाडौं जिल्ला क्षेत्र नं. ५ को नेतृत्व लिन स्थानीय नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस महासमिति सदस्य श्याम खड्काले आगामी अधिवेशनका लागि क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी केन्द्रले क्रियाशिल सदस्यता टुंगाएर अधिवेशनको औपचारिक प्रक्रिया आरम्भ हुनै लाग्दा १३औँ महाधिवेशन अन्र्तगत निर्वाचित इकाई सभापतिहरूको भेला बोलाएर खड्काले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा खड्काले आफ्नो उम्मेदवारी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न भएको बताए ।
उक्त क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा कांग्रेस पराजित भएकाले पार्टी पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको खड्काले बताए ।
क्षेत्रीय सभापतिमा उनीसहित अन्य आकांक्षीहरूले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । लगातार दुईपटक क्षेत्रीय सभापति रहेका रमेश खड्का तेस्रो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा रहे पनि औपचारिक घोषणा भने गरिसकेका छैनन् । उनी प्रदेश सांसदमा पराजित उम्मेदवार हुन् ।
क्षेत्रीय कार्य समितिका सचिव जनकराज श्रेष्ठ पनि सभापतिका आकांक्षी देखिएका छन् । लगातार दुई कार्यकाल सचिव रहेका श्रेष्ठ बसुन्धरामा सम्पर्क कार्यालय खोले पनि उम्मेदवारीका औपचारिक घोषणा भने गरिसकेका छैनन् ।
पार्टी महाधिवेशन प्रतिनिधि मनीष जोशीले पनि क्षेत्रीय सभापतिमा आकांक्षा प्रकट गरेका छन् । गएको निर्वाचनमा प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार रहेका जोशीले पनि औपचारिक घोषणा भने गरिसकेको छैनन् । कांग्रेसकै युवा नेता राजेश अधिकारीले पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । सामाजिक सञ्चालन र सञ्चार माध्यमबाट अधिकारीले क्षेत्रीय नेतृत्व लिन चाहेका बताएका छन् । उनी काठमाडौं महानगरपालिका वडा नं. ३ का इकाइ पूर्वसभापति हुन् ।