एएफपी- दक्षिण सुडानका राष्ट्रपतिले चार क्षेत्रबाट संकटकाल हटाएको उनको राष्ट्रिय टेलिभिजनले बिहीबार जनाएको छ। यससँगै द्वन्द्वका कारण ढिलो भएका चुनाव अब अर्को वर्षको सुरुमा हुने अपेक्षा गरिएको छ।
सन् २०११ मा स्वतन्त्रता पाएको सुडान सामुदायिक हिंसा तथा चरम गरिबीले ग्रस्त छ। विश्वकै सबैभन्दा भ्रष्ट देशमध्ये एकको सूचीमा रहेको सुडानको सरकारले दीर्घकालीन असुरक्षा सम्बोधन गर्न सकेको छैन र लामो समयदेखि पर्खाइमा रहेको चुनाव हालै फेरि फेब्रुअरी ११ सम्मका लागि सारिएको छ।
“राष्ट्रपति साल्भा कीरले लेक्स, वार्रप, वेस्टर्न बहर एल गजाल र युनिटी राज्यमा संकटकाल हटाइएको घोषणा गरेका छन्,” दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेसन (एसएसबीसी) को फेसबुक पोस्टमा उल्लेख छ। यस निर्णयको कुनै कारण दिइएको छैन। वार्रप राज्य सन् २०२५ देखि यो प्रावधानअन्तर्गत थियो जसले नागरिकहरूको आवतजावत सीमित गर्छ। त्यसबेला सयौं मानिसको ज्यान जाने गरी घातक सामुदायिक झडप भएको थियो।
संकटका हटाउने आदेशका बाबजुद वार्रप र युनिटी राज्यमा विशेष गरी हालका महिनाहरूमा पनि हिंसाका घटना बढिरहेका पाइन्छ। अक्टोबरमा युनिटी राज्यको सीमा नजिक सामुदायिक झडपमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो।
द्वन्द्व अनुगमन संस्था एसीएलईडीले अगस्ट र मार्चमा वार्रपमा यस्तै झडप रेकर्ड गरेको थियो जसमा कुल करिब १२० जनाको मृत्यु भएको थियो। अन्य तीन राज्य कति समयदेखि यो प्रावधानअन्तर्गत थिए भन्ने स्पष्ट छैन तर नागरिक समाजका अगुवा एडमन्ड याकानीले यो कदमलाई स्वागत गरेका छन्।
उनले भने, “संकटकाल चुनावी प्रक्रियाको चरणका लागि खतरा थियो र राष्ट्रपतिले यसलाई हटाउनु भएको छ। यो स्वागतयोग्य कदम हो।”