काठमाडौं- शेरबहादुर देउवा समूहले नेपाली कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्न खोजेपछि संस्थापन पक्ष रोक्ने प्रयासमा लागेको छ। पूर्वसभापति देउवा समूहले डा. शशांक कोइरालाको संयोजनमा यही मंसिर २१ गतेबाट खुल्लामञ्चमा १५औं महाधिवेशन गर्न लागेपछि संस्थापन पक्ष रोक्ने प्रयासमा लागेको हो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले एकै नाममा दुईवटा महाधिवेशन हुन नसक्ने बताए। ‘एउटै देशमा एउटै नामको पार्टी हुन सक्दैन। दुईटा पार्टीलाई एउटै चुनाव चिह्न र उस्तै झण्डा निर्वाचन आयोगले दिन सक्दैन। पार्टी विधानअनुसार र देश संविधानअनुसार चल्नुपर्छ,’ पौडेलले भने।
एउटै देशमा एउटै नामको पार्टी हुन सक्दैन। दुईटा पार्टीलाई एउटै चुनाव चिह्न र उस्तै झण्डा निर्वाचन आयोगले दिन सक्दैन। पार्टी विधानअनुसार र देश संविधानअनुसार चल्नुपर्छ।
प्रदीप पौडेल
महामन्त्री, नेपाली कांग्रेस
पार्टी सभापति गगन थापाले भने देउवापक्षको महाधिवेशनमा लाग्नेजति सबै जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिइसकेका छन्। कांग्रेसको गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मंगलबार अद्यावधिक गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको नयाँ कार्यसमिति विधिवत्रूपमा अद्यावधिक भएको जानकारी दिए।
देउवा समूहले भने सर्वोच्च अदालतले निस्सा दिएकोले कांग्रेसकै नाममा महाधिवेशन हुने १५औं महाधिवेशन तयारी समितिअन्तर्गत सचिवालय समन्वय समितिका संयोजकसमेत रहेका देउवा पक्षका नेता दीपकप्रसाद कुइँकेलले बताए। ‘हामीलाई सर्वोच्च अदालतले निस्सा दिएको छ। यो भनेको निर्वाचन आयोगले गरेको निर्णय त्रुटिपूर्ण छ भनेको हो। त्यसैले कांग्रेसकै नाममा हामी महाधिवेशन गर्दै छौं,’ संयोजक कुइँकेलले भने।
विशेष महाधिवेशनपछि गगन नेतृत्वको कांग्रेस नै आधिकारिक भन्दै निर्वाचन आयोगले मान्यता दिएपछि देउवापक्ष सर्वोच्च अदालत पुगेको थियो। अदालतले आयोगकै निर्णयलाई सदर गरेपछि साउन ६ गते देउवा र साउन १२ गते पूर्णबहादुर खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरवलोकनको माग गरेर निवेदन दिएका थिए।
हामीलाई सर्वोच्च अदालतले निस्सा दिएको छ। यो भनेको निर्वाचन आयोगले गरेको निर्णय त्रुटिपूर्ण छ भनेको हो। त्यसैले कांग्रेसकै नाममा हामी महाधिवेशन गर्दै छौं।
दीपक कुइँकेल
देउवा समूहका नेता
उक्त मागमा साउन २१ गते सर्वोच्चले कांग्रेसको आधिकारिकता विवादमा भएको फैसला पुनरवलोकनको अनुमति दिएको हो। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको हो।
यही आधारमा आफूहरुको महाधिवेशन तयारी अघि बढेको कुईकेल बताउँछन्। सर्वोच्चमा मुद्दा हुँदैमा कांग्रेसको नाममा अर्को महाधिवेशन मान्य नहुने महामन्त्री पौडेल बताए। सर्वोच्चमा अहिले संसद पुनस्थापनाको मुद्दा रहेको उल्लेख गर्दै मुद्दा हुँदैमा त्यही सत्य नहुने महामन्त्री पौडेलको भनाई थियो। ‘संसद पुनस्थापनाको मुद्दा छ सर्वोच्चमा। अब यो भन्दैमा अहिलेका संसद बन्द गर्ने त? कसलाई छैन मुद्दा?’ पौडेलले प्रतिप्रश्न गरे।
कांग्रेस पूर्व सभापति देउवाले पनि हरेक सम्बोधनमा आफूहरुले सर्वोच्चबाट न्याय पाउने बताउँदै आएका छन्। देउवाले आफू पञ्चायतकालबाटै अन्यायको विरुद्धमा लड्दै आएको उल्लेख गर्दै सर्वोच्चप्रति पुरा भरोसा रहेको बताउँदै आएका छन्। ‘हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो। अदालतको फैसलाले छाडिदियो। पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो। सर्वोच्चले राजाको अगाडि छाड्ने के हिम्मत गर्ला र भन्ने लागेको थियो, त्यो बेला पनि छाडेको थियो। यसपटक पनि विश्वास छ, न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिने छ,’ देउवाले भन्दै आएका छन्।
महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सबैलाई मूलघरमा फर्कन आग्रह गरेका छन्। दुवै पक्षबाट कमजोरी भएको उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले यसको समीक्षा घरभित्रै गर्न सकिने बताए। ‘प्रतिक्रियापछि प्रतिक्रिया र फेरि पनि प्रतिक्रियामात्रैले कहीँ पुगिन्न। मुल प्रश्न विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समयको हो। अत सबैमा नम्र आग्रह छ- आउनोस् , अब कोही नअल्मलिऔं, सबै जुटौं मूल बाटोमा। हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौं। मन माझौं- घरभित्रै। मन जोडौं- घरभित्रै। आखिर हामी सबै जान्दछौं- प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ,’ शर्माले भनेका छन्।
विद्युतीय मतदात गर्दै देउवा पक्ष
देउवा पक्षले नयाँ कार्यसमितिका लागि खुल्लामञ्चमा मतदान गराउने भएको छ। देउवा पक्षले महाधिवेशनको मतदात विद्युतीय मेसिन प्रयोग गर्ने तयारी गरेको छ। ‘भोटिङ इलेक्ट्रोनिक हुने भएको छ। यसका लागि रामलक्ष्मण मेसिनको टुंगो लागेको छ,’ नेता कुइँकेलले भने। संस्थापन पक्षले पनि खुल्लामञ्चमै निर्वाचन गरेको थियो। यद्यपि, संस्थापनले मतपेटिका नै प्रयोग गरेको थियो।