काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
यससँगै लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। यस सिजनको खेलमा लुम्बिनी अपराजित टोली हो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। आज जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थान कायम राख्ने योजनामा छ।
साविक विजेतासमेत रहेको लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अंक बाँडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्र्जसलाई ८ विकेटले हराएको थियो।
यता पहिलो संस्करणको विजेता जनकपुरले पनि लुम्बिनीलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा छ। चार खेलबाट २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको जनकपुरले ४ अंक जोेडेको छ। जनकपुर अंक तालिकाको चौथो स्थानमा छ।
काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो।