काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै जित हासिल गरेको छ। कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई दुई रनको झिनो अन्तरले पराजित गर्दै जित हासिल गरेको हो।
जितको लागि विराटनगरले दिएको १७५ रनको लक्ष्य पच्छाएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमा समेटियो। जनकपुरका लागि सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७१ रनको योगदान दिए। उनले २ चौका र ५ छक्का प्रहार गरे। त्यसैगरी विशाल सुसलिङले ३० बलमा ४३ रन बनाए भने जेम्स निसमले १५ बलमा २७ रन जोडे।
यता बलिङतर्फ विराटनगरका लागि आन्द्रे रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रनको योगफल बनाएको थियो। विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए।
उनले २ चौका र ५ छक्का प्रहार गरे। लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए। शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे। बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे। यस जितसँगै ४ खेल खेलेको विराटनगरले २ मा जित तथा २ मा हार बेहोर्दै ४ अंक बनाएको छ ।
त्यस्तै समान ४ खेल नै खेलेको जनकपुरको पनि समान २ मा जित तथा २ खेलमा पराजय भोगेको छ। जनकपुरको पनि समान ४ अंक नै छ।