काठमाडौं- गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता २०२६ मा दोस्रो जित निकालेको छ।
दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनीले आज पोखरा एभेन्जर्सलाई आठ विकेटले हराएको हो।
पोखराले दिएको ९८ रनको झिनो लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका लागि अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ४७ र निरोशन डिकवेलाले २७ रन बनाए। यस्तै, डार्सी सर्टले १३ रन जोडे।
बलिङतर्फ पोखराका लागि विपिन खत्रीले एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनायो। पोखराका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे।
बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले तीन, तिलक भण्डारीले दुई तथा शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहितकुमार पौडेलले एक/एक विकेट लिए।
यसअघि आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले दुई रनको रोमाञ्चक जित निकालेको थियो।