भद्रपुर- मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व संकलन गरेको छ।
कार्यालयका सूचना अधिकारी मांकल राईका अनुसार साउनदेखि असोजसम्म चार अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा चार अर्ब ६७ करोड सात लाख ७३ हजार रुपैयाँ संकलन गरेको हो।
यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व संकलन भएको हो। महिनागत विवरणअनुसार साउनमा एक अर्ब ४३ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ संकलन भएको थियो।
त्यस्तै, भदौमा एक अर्ब ६४ करोड रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
असोजमा भने राजस्व संकलन थप बढेको देखिन्छ। उक्त महिनामा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ। यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा चार अर्ब १५ करोड २० लाख नौ हजार रुपैयाँ संकलन भएको थियो।