काठमाडौं– बडादसैंको आज नवौं दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिँदै छ।
देवी दुर्गाको नवौं स्वरुप सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय विधिविधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामथ्र्य प्राप्त हुने शास्त्रमा उल्लेख छ।
सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी छन्। भगवान् शिवले देवीको अनुग्रहले शिवको आधा शरीर देवीको भएको बताइन्छ। यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात छन्।
देवी सिद्धिदात्रीकै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने विश्वास रहेको छ।
घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा आज महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ। दसैंघरलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेँडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशति पाठ गरिन्छ।
शाकाहारीहरूले कुभिण्डो, घिरौला र मुलालगायतको बलि दिने र नरिवल चढाउने गर्छन्।
मार्कण्डेय पुराणअनुसार महानवमीका दिन देवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेँडा र राँगाको पञ्चबलि पनि चढाइन्छ।
महानवमीका अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।