बैंकक- नेपाल र विश्व बैंक समहूबीच विपद् क्याटास्ट्रोफी बण्ड विकास गर्नका लागि साझेदारी घोषणा भएको छ।
भूकम्पीय जोखिम र यसबाट पर्नसक्ने हानी तथा नोक्सानीको सम्बोधनका लागि नेपालले शीध्र वित्तीय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले विपद् क्याटास्ट्रोफी बण्ड विकास गर्न नेपाल र विश्व बैंक (पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक, आइबिआरडी, Aaa/AAA) ले कार्यादेश सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यस सम्झौतासँगै नेपालको समग्र विपद् जोखिम व्यवस्थापन रणनीतिलाई सहयोग पुर्याउन पुँजीबजारको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयको लेखाजोखा गर्ने सहकार्यको सुरूवात भएको जनाइएको छ।
विश्वका विपद्को उच्च जोखिममा रहेका देशहरूमध्ये एक नेपालले जोखिम न्यूनीकरण, पूर्वतयारी तथा वित्तीय सुरक्षाका उपायहरूको समायोजनमार्फत भविष्यमा आउनसक्ने विपद्को सामना गर्न, त्यसबाट हुने क्षति कम गर्न र र विपद्पछिको पुनरूत्थानलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ।
यस सम्झौताअन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पुँजीबजारमा रहेका लगानीकर्ताहरूसँग सहकार्य गरी यस्तो क्याटास्ट्रोफी बण्ड विकास र जारी गर्नका लागि वित्तीय सम्भाव्यता र सम्भावित संरचनाको लेखाजोजा गर्ने छ।
'यो पहल विश्व बैंक समूहको स्थापित क्याटास्ट्रोफी बण्ड कार्यक्रमको एक हिस्सा हो। यस कार्यक्रमले विभिन्न देशहरूलाई विपद्जन्य जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोपविरुद्ध वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजीबजारमा पहुँच पुर्याउन सहयोग गर्दै आएको छ,' विश्व बैंकले भनेको छ, 'यस कार्यक्रमबारे थप जानकारी विश्व बैंक समूहको ट्रेजरी वेबसाइटमा रहेको विश्व बैंक समूह क्याटास्ट्रोफी बण्ड कार्यक्रम शीर्षकमा उपलब्ध छ।'