काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका प्रबन्ध सञ्चालक रमेश प्रसाद न्यौपानेको सभापतित्वमा मंगलबार काठमाडौंको गौशालामा सम्पन्न सभाले विभिन्न वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको हो।
सभाले कम्पनीका अध्यक्ष जीवनराज शाक्यको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनका साथै सोही आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।
सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीका आधारमा नगद लाभांश वितरण गर्नेसहितका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले लाभांशकाे ०.२६३ प्रतिशतका दरले ५ प्रतिशत लाभांश पारित भएको उल्लेख छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीबाट २८ करोड ६४ लाख ८० हजार ७१६ रुपैयाँ आम्दानी भएको छ।
त्यस्तै, ब्याज आम्दानी, लाभांश तथा लगानी निसर्गलगायतका स्रोतबाट ४ करोड ६१ लाख ७७ हजार १३० रुपैयाँ आम्दानी भएको सभामा जानकारी गराइएको थियो। साधारण सभामा सेयरधनीहरूले उठाएका विभिन्न प्रश्नको जवाफ प्रबन्ध सञ्चालक रमेश प्रसाद न्यौपानेले दिएका थिए। अध्यक्ष जीवनराज शाक्य अस्वस्थताका कारण सभामा उपस्थित हुन सकेका थिएनन्।
ताप्लेजुङ जिल्लाको पिलुवा खोलामा निर्माण गरिएको ३ मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो। उक्त आयोजनाले २०६० साल असोजदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै आएको छ।
कम्पनीले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन तथा बिक्री गर्दै आएको छ। साधारण सभाले पारित गरेका प्रस्तावहरू कम्पनीको आगामी वित्तीय तथा व्यावसायिक गतिविधिसँग सम्बन्धित रहनेछन्।