काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ। पदाधिकारीमा अधिकांश मुख्य पद सभापति गगन थापा पक्षले जित निकाल्दै गरेको बेला दुई सहमहामन्त्रीमा भने पूर्वसभापति शेरबहादुर देउवा समूह छाडेर आएका नेता निर्वाचित भएका छन्।
खुला सहमहामन्त्रीमा निर्वाचित रामहरि खतिवडा यसअघि देउवा समूहमा थिए। गगन समूहका नेताहरुलाई भारी मतले पछि पार्दै खतिवडा सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। असोज १ मा मात्र संस्थापन समूहमा खुलेका खतिवडाको जितलाई धेरैले आश्चर्यपूर्वक हेरेका छन्।
खुलातर्फ दुई सहमहामन्त्रीको कोटामा अजयबाबु शिवाकोटी, डिल्लीराम सुवेदी र रमेश धमला गगन पक्षका उम्मेदवार हुन्। खतिवडाको जितले शिवाकोटी दोस्रो सहमहामन्त्री बन्न सफल भएका छन्। खतिवडा असोज १ गते मीनबहादुर विश्वकर्मालगायतका नेतासहित केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मत परिणाम भने औपचारिकरुपमा सार्वजनिक गरिएको छैन। विशेष महाधिवेशनमा सक्रिय रहेका सुवेदी भने पराजित भएका छन्। विशेष महाधिवेशनमै सक्रिय बनेका रमेश धमलाले कम मतमा चित्त बुझाए। यो समूहमा देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृत अर्याल र विमलराज क्षत्री पनि प्रतिस्पर्धामा थिए।
यता पिछडिएको क्षेत्र क्लस्टरतर्फबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। शाही पनि देउवा गुट छोडेर संस्थापनमा पसेका नेता हुन्। यो समूहमा चलचित्र निर्देशक मिन भामले उम्मेदवारी फिर्ता लिएकाले शाहीलाई जित निकाल्न सहज भएको हो। शाहीले तीन हजार ९०६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनकराग गिरीले एक हजार ३७० मतमात्र पाए।
सहमहामन्त्री (महिला) तर्फ प्रतिमा गौतम निर्वाचित भएकी छन्। उनी पाँच हजार ११६ मतसहित सहमहामन्त्री निर्वाचित भएकी हुन्। अर्की उम्मेदवार नानुमैया बास्तोलाले एक हजार ५५४ मत ल्याएकी छन्।
उनीहरू दुवै गत पुसमा भएको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए।
१५ जना महिला सदस्यमा को–को निर्वाचित भए ?
महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्यमा वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया तीन हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी तीन हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन्। उर्मिला डा. शेखर कोइराला समूहकी नेतृ हुन्। त्यस्तै, कुसुमदेवी थापा तीन हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा तीन हजार २३१ मतसहित पाँचौं स्थानमा रहेर निर्वाचित भएकी छन्।
निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्। गीताले दुई हजार ४२०, कल्पनाले दुई हजार ३६३, रीताले दुई हजार ३०८, गंगाले दुई हजार २९८ र उमा दाहालले दुई हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुन ३६ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।