एएफपी- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद, पत्रकार र प्रदर्शनकारीमाथि दुर्व्यवहार गरेको विपक्षी नेता तथा पत्रकारहरूले आरोप लगाएका छन्। निर्वाचन प्रमुखको राजीनामा माग्दै सोमबार थप प्रदर्शनको तयारी भइरहँदा प्रहरीले नयाँदिल्लीका प्रमुख सडकमा अवरोध खडा गर्नुका साथै मेट्रो स्टेसनहरू बन्द गरेको छ।
भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले सर्वोच्च अदालततर्फ पदयात्रा गर्न समर्थकहरूलाई आह्वान गरेको छ। प्रहरीले मध्य दिल्लीमा लगातार तेस्रो दिन हजारौँ सुरक्षाकर्मी परिचालन गरेको छ। मतदाता सूची संशोधनमा अनियमितता भएको आरोप लगाउँदै सुरु भएको प्रदर्शनमा विपक्षी दल, विद्यार्थी समूह र अधिकारकर्मी सहभागी छन्। आलोचकहरूले संशोधनबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने र अल्पसङ्ख्यक, विशेषगरी मुस्लिम समुदाय प्रभावित हुन सक्ने बताएका छन्। निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै दोहोरो, मृतक र नक्कली विवरण हटाउन संशोधन गरिएको जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा हजारौँ मानिसलाई नियन्त्रणमा लिइएको थियो। हिरासतमा लिइएकामध्ये कक्रोच जनता पार्टी (सिजेपी) का तीन शीर्ष नेतासहित अधिकांश रिहा भएका छन्। विपक्षी नेताहरूले सामूहिक गिरफ्तारीमार्फत असहमति दबाउन खोजिएको आरोप लगाएका छन्।
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सांसद जोन ब्रिटासले आइतबार प्रहरीले आफूलाई दुर्व्यवहार गरेको, तानेको र आक्रमण गरेको आरोप लगाएका छ। उनले यसलाई लोकतान्त्रिक स्वतन्त्रता र विधिको शासनमाथिको आक्रमण बताए। प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकारहरूले पनि प्रेस परिचयपत्र देखाउँदासमेत आफूहरूलाई नियन्त्रणमा लिइएको बताएका छन्। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार सप्ताहान्तमा कम्तीमा १६ जना पत्रकार हिरासतमा परेका थिए।
गान्धीले समर्थकहरूलाई नडराउन आग्रह गर्दै आन्दोलन जारी राख्ने बताएको छ। सिजेपीका नेताहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने जनाएका छन्। सञ्चारमाध्यमका अनुसार मतदाता सूची संशोधनबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएका छन्। यसले मोदीको तेस्रो कार्यकालमा महत्त्वपूर्ण राजनीतिक चुनौती सिर्जना गरेको छ। निर्वाचन अधिकारीहरूले भने सूचीबाट गलत विवरण हटाउनु नै संशोधनको उद्देश्य रहेको बताएका छन्।