एएफपी- अमेरिकालाई क्युबामाथिको प्रतिबन्ध हटाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले आग्रह गरेका छन्। टापु गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। वासिङ्टनले जनवरीदेखि क्युबाविरुद्ध विनाशकारी नयाँ प्रतिबन्ध र तेल नाकाबन्दी सुरु गरेको छ। यसले अर्थतन्त्रलाई धक्का दिएको छ र व्यापक बिजुली कटौती तथा अत्यावश्यक वस्तुको अभाव सिर्जना गरेको छ। “म भर्खरै क्युबाबाट फर्किएको छु, मैले देखेको दृश्यले मलाई दुखी बनाएको छ,” टेड्रोस अधानोम घेब्रेयससले एक्समा लेखेका छन्।
उनले भनेका छन्, “अस्पतालका कोरिडोरहरूमा साना हातहरूले ठूला आशाहरू समातिरहेका छन्। स्वास्थ्यकर्मीहरूले आफूसँग भएको सबै दिइरहेका छन्। राजनीतिक विवादका लागि बच्चाहरूले कहिल्यै मूल्य चुकाउनु हुँदैन।” “उनीहरूका लागि म अमेरिकालाई प्रतिबन्ध हटाउन आग्रह गर्छु,” टेड्रोसले थपे। समाजवादी मुलुक क्युवामा सन् २०२० मा औसत आयु ७८.८ वर्षबाट २०२५ मा ७४.४ वर्षमा झरेको छ। यो सन् १९५० देखि अभिलेख सुरु भएयता पहिलो गिरावट हो।
सन् २०२५ का आँकडा जनवरीमा लगाइएको अमेरिकी इन्धन नाकाबन्दीअघिका हुन्। यो नाकाबन्दीले ६० वर्ष पुरानो अमेरिकी व्यापार प्रतिबन्धमाथि थप बल दिएको छ र क्युबामा दशकौँको सबैभन्दा खराब संकटलाई तीव्र बनाएको छ। राज्यका सेवाहरू पतनको संघारमा पुगेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवाको साम्यवादी सत्तारुढ दललाई अपदस्थ गर्न सैन्य हस्तक्षेप गर्ने संकेत दिएका छा् भने अमेरिकी विदेश मन्त्री मार्को रुबियोले गत महिना क्युबालीहरूलाई अमेरिकी खुफिया सेवासँग सहकार्य गर्न आग्रह गर्नु भएको थियो। क्युबा सन् १९६२ देखि अमेरिकी व्यापार प्रतिबन्धअन्तर्गत छ।
डब्ल्यूएचओ प्रमुख टेड्रोसले मंगलबार हवाना भ्रमणका क्रममा स्वास्थ्य प्रणाली ‘गम्भीर’ अवस्थामा रहेको चित्रण गरेका थिए। उनले भने, “सन् २०२० मा “शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा करिब चारबाट सन् २०२५ मा ९.९ मा बढेर दोब्बरभन्दा बढी भएको छ। टेड्रोसले बाल टीकाकरण कार्यक्रम र अत्यावश्यक चिकित्सा उपकरण खरिदका लागि २० लाख डलर सहयोग घोषणा पनि गरेका छन्। उनले क्युबाको स्वास्थ्य अवस्थालाई ‘प्रतिबन्ध’ सँग जोडेका छन् तर ‘आन्तरिक समस्या’ हरूलाई पनि उल्लेख गरेका छन्।
क्युवाले ती समस्याहरूलाई सम्बोधन गरिरहेको कुरालाई उनले ‘सकारात्मक’ भने। उनले क्युबाको व्यापक बजारमुखी आर्थिक सुधारको घोषणालाई संकेत गर्दै भने, “सरकारले प्रस्ताव गरेको सुधार अर्थतन्त्र, बजार, स्वास्थ्य, लगभग हरेक क्षेत्रसँग सम्बन्धित छ र हामी यसलाई समर्थन गर्छौं।”