काठमाडौं– नेपाली कांग्रेसको खुला उपसभापतिमा डा. चन्द्र भण्डारी र इञ्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत पाएर विजयी भएका हुन्।
भण्डारी र आचार्य सुरुदेखि नै अघिपछि थिए। अन्ततः दुवैले परिणाम विजयी निकाले। भण्डारीले अग्रतालाई कायम राख्दै दोस्रो प्रयासमा उपसभापति पदमा निर्वाचन जितेका हुन्। १४औं महाधिवेशनमा पनि उनी उपसभापति पदका उम्मेदवार थिए। त्यतिबेला पराजित भए।
पार्टीमा कोइराला खेमाका नेता भण्डारी विशेष महाधिवेशनको प्रक्रियामा सहभागी थिएनन्। उनी मध्यमार्गमा थिए। पार्टीलाई हरहालतमा एकताबद्ध बनाउनुपर्ने उनको धारणा छ। उनै भण्डारीलाई पार्टीको खुला उपसभापतिमा देशभरबाट काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूले निर्वाचित गराएका हुन्।
भण्डारीपछि दोस्रो बढी मत ल्याएर खुला उपसभापतिमा निर्वाचित आचार्यलाई गोविन्द भट्टराईले एक हजार ७५२ मतसहित पछ्याएका थिए। तर, आचार्यले आफ्नो पक्षमा चुनावी परिणाम पारे। अन्य उम्मेदवारहरूमा सुरेन्द्रराज पाण्डेले एक हजार ६७३ मत, धनराज गुरुङले एक हजार ५९६ मत, दीपक गिरीले ९२३ मत र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मतमात्रै पाएको निर्वाचन समितिले जनाएको छ।
समावेशी उपसभातिमा विनोद चौधरी निर्वाचित भएका छन्। उनी उद्योगपति हुन्। एक हजार ७४५ मतसहित उनी समावेशी उपसभापति निर्वाचित भए।
उनलाई पूर्वसहमहामन्त्री जीवन परियारले कडा टक्कर दिए। परियारले एक हजार ६५८ मत पाए। फरमुला मंसुरले एक हजार १४४ मत, सीता गुरुङले एक हजार ११२ मत र रञ्जित कर्णले ५६२ मतमात्रै जुटाउन सके।
दुई खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। पौडेल फराकिलो मतान्तरसहित विजयी भए। उनले चार हजार १९४ मत पाए। अर्का विजेता राणाले दुई हजार हजार ३३० मत पाए।
महामन्त्री पदका अन्य उम्मेदवारहरू डा. सुनिलकुमार शर्माले दुई हजार २५७ मत, गुरुराज घिमिरेले एक हजार ५१३, अमरसिंह पुनले एक हजार १२५, नैनसिंह महरले एक हजार १३४ तथा शंकर तिवारीले १२३ मत पाए।
यस्तै, महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भएकी छन्। उनलाई महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनौती दिएकी थिइन् तर परिणाम हात पारिन्। निर्वाचन समितिका अनुसार संग्रौलाले तीन हजार ११८ मत, डिनाले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे।
खुला सहमहामन्त्रीमा नेता रामहरि खतिवडाको अग्रता देखिएको छ। यो समाचार तयार पार्दासम्म मतगणना भइरहेको छ। खुला महिला केन्द्रीय सदस्यको पनि मतगणना थालिएको निर्वाचन आयोगका सदस्य सुजन लोप्चनले बताए।
यसअघि नै पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन्। सभापतिमा थापा छ हजार ५८४ मतसहित शनिबार नै निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याएका थिए। सात हजार ३१७ महाधिवेशन प्रतिनिधि रहेकामा सात हजार ३९ जनाले मतदान गरेका थिए।
उपसभापतिमा पराजित भएपछि नेता गिरीले अपेक्षित परिणाम नआए पनि कांग्रेस बदल्ने संकल्प नछोड्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै उनले परिवर्तनको बाटो नछोड्ने बताएका हुन्। ‘चारतारे झण्डा र रुखको छहारीमा, साथीहरूसँग हातेमालो गर्दै नेपाली कांग्रेसको संगठनलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउन आफ्नो यात्रा निरन्तर अघि बढिरहने छ,’ उनले बताएका छन्।
महामन्त्री पदका उम्मेदवार पुनले पनि निर्वाचनको परिणाम स्वीकार्दै पार्टी रूपान्तरणको अभियानबाट पछि नहट्ने बताएका छन्। महामन्त्री पदको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्ने अवस्था बनेपछि पुनले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिका लागिमात्र नभई कांग्रेसलाई बदल्ने र नयाँ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यले रहेको बताएका छन्।
‘म निर्वाचनको परिणामलाई स्वीकार गर्छु तर परिवर्तनको आवश्यकतालाई बिर्सिन सक्दिनँ। पद प्राप्त नहुँदैमा विचार त्यागिँदैन, परिणाम प्रतिकूल हुँदैमा जिम्मेवारी समाप्त हुँदैन,’ उनले भने।
कसले कति मत पाए ?
उपसभापति खुला
डा. चन्द्र भण्डारी ३७३५ (विजयी)
इ. मधु आचार्य २३४२ (विजयी)
गोविन्द भट्टराई १७५२
सुरेन्द्रराज पाण्डे १६७३
धनराज गुरुङ १५९६
दीपक गिरी ९२३
प्रा.डा. चन्द्रमोहन यादव ७६०
समावेशी उपसभाति
विनोद चौधरी १७४५ (विजयी)
जीवन परियार १६५८
फरमुला मंसुर ११४४
सीता गुरुङ १११२
रञ्जित कर्ण ५६२
खुला महामन्त्री
प्रदीप पौडेल ४१९४ (विजयी)
उदयशमशेर राणा २३३० (विजयी)
डा. सुनिलकुमार शर्मा २२५७
गुरुराज घिमिरे १५१३
अमरसिंह पुन ११२५
नैनसिंह महर ११३४
शंकर तिवारी १२३
महिला महामन्त्री
डा. डिला संग्रौला ३११८ (विजयी)
महालक्ष्मी उपाध्याय ‘डिना’ २८६४
रीता खनाल ८०४