काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरू भएको छ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना केहीबेर अघि सुरू भएको हो।
यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो।
उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। सिसी क्यामरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिको नाम संकलन गरी मतगणना थालिएको हो।
यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापति पदको मतगणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै भएको थियो।
सभापतिमा गगनकुमार थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरी श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए।
सभापति थापाले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिए।
सभापति थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिकरूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने बताए।
कांग्रेसको १५औं महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।