स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानडेली कवि एनी कार्सनलाई दिने निर्णय भएको बिहीबार स्विडिस एकेडेमीले घोषणा गरेको छ।
उनले ग्रीक पौराणिक कथा र प्राचीन काललाई आधुनिक शैलीमा प्रस्तुत गरेर समकालीन लेखनका नयाँ रूपहरूलाई प्रेरित गरेको एकेडेमीले जनाएको छ।
सन् २०२४ मा आफूलाई पार्किन्सन रोग भएको घोषणा गरेकी ७६ वर्षीया कार्सनलाई ‘शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि’ यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।
कार्सनको जन्म सन् १९५० मा क्यानडाको टोरोन्टोमा भएको हो। सन् १९८१ मा उनले शास्त्रीय साहित्यमा विद्यावारिधिको शोधप्रबन्ध प्रकाशित गरेकी थिइन्। उनले कविता लेखनसँगसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आएकी छन्। एकेडेमीकी स्थायी सचिव इन्ग्रिड कार्लबर्गले कार्सनसँग छोटो कुराकानी भएको बताइन्।
कार्लबर्गले भने “हामीसँग धेरै समय कुरा गर्ने अवसर थिएन। उहाँले मलाई भन्न पाएको कुरा यति मात्र थियो कि उहाँ अहिले आइसल्याण्डमा हुनुहुन्छ र यो सूचनाले आफू अचम्मित भएको तर अत्यन्त खुसी हुनुभएको छ। मैले उहाँको आवाजबाट उहाँको खुसी महसुस गर्न सकेँ।"
कार्सनले १५ वर्षभन्दा बढी समयदेखि वर्षको केही समय आइसल्याण्डमा बिताउने गरेकी छन्। आइसल्याण्डिक प्रसारक आरयूभीका अनुसार उनले आइसल्याण्डको नागरिकता पनि लिएकी छन्।
मृत भाषा, साहित्य, मानवशास्त्र र इतिहासको पृष्ठभूमि भएकी क्लासिक्सकी प्राध्यापक कार्सनलाई न्युयोर्क टाइम्सले सन् २००१ मा ‘महान् पास्तिचरहरूमध्ये एक’ भनेर वर्णन गरेको थियो।
उनको अद्वितीय समकालीन कविताले सन् १९९० को दशकमा उनलाई धेरै प्रमुख साहित्यिक पुरस्कार दिलाएको थियो। यसमा सन् १९९६ को ‘ल्यानन अवार्ड’ र सन् १९९७ को ‘पुशकर्ट अवार्ड’ समावेश छन्।
एक वर्षपछि उनको ग्रीक पौराणिक कथाको राक्षस ‘गेरियोन’ र ‘हेराक्लेस’को कथामा आधारित तर समलिंगी प्रेम त्रिकोणको आधुनिक कथामा रूपान्तरित ‘अटोबायोग्राफी अफ रेडः ए नोभल इन भर्स’ले व्यापक प्रशंसा प्राप्त गरेको थियो।
एकेडेमीले यसलाई ‘महान भावनात्मक गुणहरू भएको महाकाव्य र कविताको शानदार रूप’ भनेको छ।
हाम्रो समयका लागि लेखक
एकेडेमीले भनेको छ, “कार्सनको लगभग सबै साहित्यिक उत्पादन ‘शब्दप्रति भाषाशास्त्रीको मोह र नयाँ अर्थप्रति कविकी चाहनाको चौराहा’मा केन्द्रित रहेको छ।”
एकेडेमीले सन् २००० मा निधन भएका उनका भाइको सम्झना र एक निरन्तर कागजको पानामा सन् २०१० मा छापिएको ‘अविस्मरणीय कृति’ को कविता ‘नक्स’ लाई विशेष उल्लेख गरेको छ।
“यहाँ गहिरो क्षतिको भावना स्पष्ट रूपमा महसुस हुन्छ जुन तलबाट माथि उठ्छ। परिणाम स्वरूप यो साहित्यिक जत्तिकै मूर्तिकलाजन्य सिर्जना हो। यसमा एउटा बाकसको रूपमा रहेको समाधिलेखमा उनको दिवंगत भाइलाई समर्पित तस्बिरहरू, चिठीहरू र अन्य लिखित पाठहरूको समरूपता समावेश छ।”
एकेडेमीले उनका शास्त्रीय ग्रीकबाट गरिएका अनुवादहरूलाई पनि उजागर गरेको छ, जसलाई ‘उनका आफ्नै अधिकारका लागि लेखिएका स्वतन्त्र कृतिहरूका रूपमा लिन सकिन्छ।’
एकेडेमी सदस्य स्टिभ सेम–स्यान्डबर्गले नोबेल फाउन्डेसनसँगको अन्तर्वार्तामा कार्सनलाई ‘हाम्रो समयकी लेखक’ भनेका छन्।
“उहाँ आफ्नो लेखनमा सधैँ प्राचीन कालमार्फत हाम्रा समकालीन जीवनशैलीहरूलाई जोड्नुहुन्छ,” सेम–स्यान्डबर्गले थपे।
“उहँ त्यस समयका मिथकहरू, पात्रहरू, कथाहरू, दन्त्यकथाहरू प्रयोग गर्नुहुन्छ र तिनीहरूलाई आधुनिक सन्दर्भमा राख्नुहुन्छ। यी दुईको मिश्रणले उहाँको लेखनलाई अत्यधिक ऊर्जा दिन्छ,” उनले भने।
सेम–स्यान्डबर्गले एएफपीसँग भने, “जब तपाईं उनको कृतिभित्र हुनुहुन्छ, तपाईं तुरुन्तै उनको आवाज र विषयवस्तुहरू चिन्न सक्नुहुन्छ। कसैले पनि उनजस्तो लेख्दैन।”
कार्सनले सन् २०२४ मा ‘लन्डन रिभ्यु अफ बुक्स’मा आफ्नो ‘पार्किन्सन’ रोगबारे कुरा गरेको छ।
उनले भनेका छन्, “मेरो लागि विशेष रूपमा अपमानजनक लक्षण यो थियो कि मेरो हस्तलेखन अवरूद्ध भएको छ।”
कार्सनलाई वर्षौंदेखि सम्भावित नोबेल विजेताका रूपमा उल्लेख गरिन्थ्यो, यद्यपि केही विशेषज्ञहरूले एकेडेमीले सन् २०१३ मा छोटो कथाकी लेखक एलिस मुनरोलाई पुरस्कार दिएको केही समयपछि अर्को क्यानडेलीलाई सम्मान गर्ने सम्भावना कम रहेको बताएका थिए।
आइसल्याण्डको नागरिकता भएका कारण उनी सन् १९५५ मा हाल्डोर ल्याक्सनेसपछि यो पुरस्कार जित्ने त्यहाँकी दोस्रो लेखक पनि भएकी छन्। रासस/एएफपी