काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा बसेका छन्। मतदान बिहान ७ बजेदेखि सुरु हुने भएपछि मतदाता लाइनमा लागेका हुन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए। उमेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलो भएको हो।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्नेछन्।
हिमाल हलमा गण्डकी प्रदेश तथा तराई–मधेस हलमा मधेस प्रदेश प्रतिनिधिले मतदान गर्नेछन्।
पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले प्रतिनिधिले मतदान गर्नेछन्।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।
परिचयपत्र र मतदाता नामावली रुजु गरिने
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ।
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।
उमेदवारी प्रक्रिया पूरा
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उमेदवारी दर्ता, दाबी–विरोध तथा उमेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उमेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। विभिन्न पदमा परेको उमेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
आजको बसाई र खानाको खर्च पार्टीकै
आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटेल बसाई खर्च र खाना खर्च पार्टीले नै व्यहोर्ने बताए।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।