बुटवल - बुटवल उद्योग बाणिज्य संघमा निर्वाचनको माहाेल तातेकाे छ । यहि असाेज २६ गते हुने निर्वाचनमा तीन जनाकाे अध्यक्ष पदमा चर्चा चलेकै वेला व्यवसायी नरिश्वर शर्मा पौडेलले बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्यानल सहित उम्मेदवार घाेषणा गरेका छन्।
बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलले व्यवसायीका समस्या समाधान, संघको संस्थागत सुदृढीकरण, राेजगार, औद्योगिक क्षेत्रको व्यवस्थापन तथा निजी क्षेत्रको हितलाई प्राथमिकतामा राखेर परप्यानल सहित आफू अध्यक्ष पदमा उम्मेदवार बनेको घाेषणा गरे।
अध्यक्षका दावेदार नरिश्वर पौडेल संघका पूर्व वाणिज्य उपाध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नम्बर –४ का वडाध्यक्षसमेत हुन्। उनले पछिल्लो समय सुस्ताउँदै गएको बुटवलको बजारलाई पुनः चलायमान बनाउँदै बुटवललाई आर्थिक शहरका रूपमा विकास गर्ने योजना रहेको बताए।
व्यावसायिक क्षेत्रमा लामाे यात्रा पार गरेकाे पाैडेल आफ्नो व्यवसायिक अनुभव र रोजगारी सिर्जनालाई संघको नेतृत्वमा समेत जोड्ने बताउँदै पौडेलले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी जाेडदिने बताए । उनले विभिन्न क्षेत्र र समुदायलाई समेटेर समावेसी टिमसहित चुनावी मैदानमा उम्मेदवारी दिएका छन्।
पाैडेल नेतृत्वको प्यानलकाे बरिस्ठ उपाध्यक्षमा हालका बरिस्ठ उपाध्यक्ष सुरज भट्टराई रहेका छन् । उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार रहेका छन्।
त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री , उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी रहेका छन्।
वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी रहेका छन्। महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ , शिवदेव अर्याल र विष्णु उपाध्याय उम्मेदवार रहेका छन्।
उता अध्यक्ष पदमा टंकप्रसाद गैरे र दिनेश प्रसाद श्रेष्ठले पनि उम्मेदवार बन्ने घाेषणा गरेका छन् । संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशन आगामी असोज २३ गतेदेखि सुरु हुँदैछ। अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।
पौडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै बुटवल उद्योग वाणिज्य संघको चुनावी माहोल एकाएक तातेको छ।