जेरुसेलम- हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन्।
सुरक्षा विफलता, युद्ध र सरकारको जिम्मेवारीका विषयले चुनावी बहसलाई प्रभावित गरेको छ।
इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए। विपक्षीहरूले आक्रमणको सुरक्षा विफलताको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने भन्दै घटनाबारे आधिकारिक अनुसन्धान आयोग गठन र सुधार तथा पुनर्निर्माणमा केन्द्रित सरकार बनाउने प्रतिबद्धता जनाएका छन्। नेतान्याहुका समर्थकहरूले भने सैन्य नेतृत्वको कमजोरीका बाबजुद उनले देशलाई कठिन परिस्थितिबाट अघि बढाएको दाबी गरेका छन्।
अक्टोबर २७ मा हुने चुनावमा नेतान्याहुको भविष्यसमेत जोडिएको छ। सन् २०२३ को आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए। त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्दा स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार ७४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। युद्ध लेबनान, सिरिया, यमन र इरानसम्म फैलिएको छ।
नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिबद्धता जनाउँदै आएका छन्। प्रमुख सुरक्षा अधिकारीहरूले राजीनामा दिएपछि उनीअक्टोबर ७ पछि पदमा रहनुभएका एकमात्र वरिष्ठ अधिकारी हुन्। प्रमुख प्रतिद्वन्द्वी पूर्वसैन्य प्रमुख गदी आइसेनकोटले आक्रमणमा छोरा र भतिजा गुमाएका छन्।
चुनावी बहसमा गाजाको मानवीय संकट र प्यालेस्टिनी राज्य स्थापनाबारे भने कमै चर्चा भएको छ। इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अनुसार ६० प्रतिशतभन्दा बढी इजरायलीले अक्टोबर ७ को घटनाप्रतिको धारणा मतदानको निर्णयमा प्रमुख कारक रहेको बताएका छन्। यहुदी मतदातामध्ये यस्तो धारणा राख्नेको संख्या ६८ प्रतिशत छ। हर्मनका अनुसार घटनालाई महत्त्वपूर्ण ठान्ने मतदाताबीच पनि त्यसबाट निकालिएको राजनीतिक निष्कर्ष भने फरक–फरक छ। रासस/एपी