काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मनोनयन दर्ता सुरु भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले राष्ट्रिय सभागृहमा उम्मेदवारी फाराम वितरण र उमेदवारी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिए। दिउँसो १२:३० बजेदेखि ४:०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको उनले बताए।
आज बिहान ९:३० बजे मतदाता नामावली प्रकाशन उपर दावी विरोध, १०:३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ गरी ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको थियो।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिएका सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्तव चुन्दै छन्।
संशोधित विधानअनुसार २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरिएको छ। नयाँ व्यवस्थाअनुसार नै निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ।
आइतबारदेखि सुरु भएको महाधिवेशनको आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।