काठमाडौं– नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकार झण्डै दोब्बरले बढाएको छ। मनोनीत पदहरु सिर्जना गरेर सभापतिलाई शक्तिशाली बनाउँदै कांग्रेसले सोमबार २९७ सदस्यीय कार्यसमिति पक्का गरेको हो।
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचत सभापति गगनकुमार थापाको नेतृत्वमा खुलामञ्चमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको संख्या २९७ पुर्याइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। ‘केन्द्रीय समितिको आकार केही बढेर २९७ पुगेको छ। यो विधान हलले पारित गरेको छ,’ प्रवक्ता चालिसेले भने।
१४औं महाधिवेशनमा कांग्रेस केन्द्रीय समितिको आकार १६८ सदस्यीय थियो। उक्त केन्द्रीय समितिमा अधिकांश पद निर्वाचित थियो भने ३३ जना केन्द्रीय सदस्यमात्र सभापतिले मनोनीत गर्न पाउने व्यवस्था थियो। निर्वाचनमा भिड्न नसकेका अल्पसंख्यक र अपांगता भएका व्यक्तिहरुका लागि ३३ जना मनोनीतको व्यवस्था गरिएको थियो।
यसपटक भने नेता व्यवस्थापनका लागि अधिकांश पदको संख्या बढाइएको छ। सहमहामन्त्री चार जना सभापतिले मनोनीत गर्न पाउने छन् भने केन्द्रीय सदस्य ६६ जना मनोनीत गर्न पाउने छन्।
उपसभापति दुईबाट बढाएर पाँच जना कायम गरिएको छ। सहमहामन्त्री पद आठबाट बढेर १५ पुगेको छ। सबैभन्दा आकर्षित मानिएको महामन्त्री पद दुईबाट तीन जना रहने व्यवस्था गरिएको छ।

नारा बदलिएको, शैली पुरानो कम्युनिस्टको
नारामा बदलिएको कांग्रेस भने पनि कांग्रेसले कम्युनिस्ट पार्टीको पुरानो शैली पछ्याएको देखिएको छ। केन्द्रीय सदस्यमा खुलातर्फ ४५ र महिला खुलामा १५ सिट छुट्याइएको छ। हरेक प्रदेशबाट एक महिलासहित चार जना, उपत्यकाबाट एक महिलासहित दुई जना, दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना चुनिने व्यवस्था गरिएको छ।
जनजातिबाट आठ महिलासहित २० जना, खस आर्यबाट आठ महिलासहित १८ जना, मधेसीबाट पाँच महिलासहित १३ जना, जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना र पिछडिएको बर्गबाट तीन जना चुनिने व्यवस्था गरेको प्रवक्ता चालिसेले जानकारी दिए।
उनका अनुसार थारूबाट दुई महिलासहित छ जना, श्रमिकबाट एक महिलासहित तीन जना, पेसागत विज्ञबाट दुई महिलासहित सात जना, सातै प्रदेशबाट ३५ वर्ष मुनिका २१ जना, अपांगता भएकाबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना निर्वाचित हुने छन्। केन्द्रीय कार्यसमितिले मनोनीत गर्ने सदस्यको संख्या ६६ पुर्याइएको छ।
बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको विधान संशोधनको प्रस्ताव पारित गरेको छ। यसरी किन सभापतिलाई शक्तिशाली बनाइयो ? ‘सभापतिलाई बलियो बनाउँदा उसको लिडरसिप पनि बलियो हुन सक्छ भन्ने हिसाबले केही मनोनीतको संख्या बढाइएको छ,’ प्रवक्ता चालिसेले भने।
केन्द्रीय समितिमा असन्तुष्ट नेताहरुलाई व्यवस्थापन गर्नसमेत कार्यसमितिको संख्या बढाएको बताइएको छ।
कांग्रेसको अबको नारा ‘समुन्नत नेपाल’, प्रधानमन्त्रीमा दुई कार्यकालमात्र
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अबको नारा समुन्नत नेपाल रहने बताएका छन्। महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले आर्थिक वृद्धिदरलाई मात्र समुन्नतिको मापदण्ड नमान्ने बताए।
शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार बनाउँदै नागरिकको सामथ्र्य निर्माण, अवसरमा पहुँच र सहनिर्माणलाई समुन्नतिको मुख्य कार्यप्रणाली बनाउने प्रस्ताव प्रतिवेदनमा छ।
त्यसैगरी कुनै व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकालभन्दा बढी रहन नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्ताव गरिएको छ। सत्ता र नेतृत्वमा दीर्घकालीन व्यक्तिगत पकड रोक्न प्रधानमन्त्रीको कार्यकाल सीमा निर्धारण गर्ने प्रस्ताव प्रतिवेदनमा छ। यो प्रस्ताव गोदावरी महासमिति बैठकमा महामन्त्री छँदा विश्वप्रकाश शर्माले पेस गरेको प्रस्ताव हो।
थापाको प्रतिवेदनमा मुख्यरूपमा २९ विषय समेटिएका छन्। जसमा कांग्रेसको ऐतिहासिक योगदान र आत्मसमीक्षा, भदौ २३–२४ को जनउभार र कांग्रेसको पराजयको विषय पनि समेटिएको छ।
यसैगरी आगामी निर्वाचनमा निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव थापाले गरेका छन्। आफ्नै रुख चिह्न, आफ्नै उम्मेदवार र आफ्नै एजेण्डासहित जनतामाझ जाने तथा उम्मेदवार छनोटमा गुट, पहुँच र संरक्षणभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ।
यसैगरी थापाले बढ्दो बसाइँसराइ र घट्दो जनसंख्याको विषयमा पनि प्रस्तावमा उल्लेख गरेका छन्। पहाडमा घट्दो जनसंख्या, मधेस तथा राजमार्ग क्षेत्रमा बढ्दो बसाइँसराइ र ठूला शसहरमा बढ्दो चापलाई फरक–फरक ढंगले सम्बोधन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
प्रशासनिक सीमाभन्दा वास्तविक बसोबास, आवागमन र सेवाको मागअनुसार विकास योजना बनाउने तथा गाउँ, सहर र विदेशसँग जोडिएको नयाँ नेपाली जीवनशैलीअनुसार शिक्षा, स्वास्थ्य, आवास, यातायात र सामाजिक सुरक्षा नीति बनाउनुपर्ने प्रस्ताव छ।