असोज १८ गते, टन्टलापुर घाम। रुख चिह्न बोकेको खुलामञ्चमा कांग्रेसका कार्यकर्ताहरु ओहोरदोहोर गरिरहेका थिए। किनकि, त्यहाँ उनीहरूको भव्य अधिवेशनको तयारी चलिरहेको थियो।
वरिपरि मान्छेको भीड, झण्डाको रङ, माइकको आवाज र नेताहरूको भाषणको अभ्यास चल्दै थियो। कोही भन्दै थिए– ‘हामीले बनाएको पार्टी हो।’
अर्कोले भन्यो, ‘हामीले जोगाएको लोकतन्त्र हो।’
तेस्रोले भन्यो, ‘हामीले बनाएको यो व्यवस्था हो।’
मट्याङ्ग्रो भने अलि पर बसेर सबै कुरा सुनिरहेको थियो। उसले आफ्नो पुरानो टोपी मिलाउँदै सँगै सैनिक मञ्चको पछाडि रहेको पेटीमा राखेको फलामे बेच्नमा बसिरहेको मित्र बैरीलाई भन्यो, ‘ए बैरी! आजकाल एउटा कुरा बुझ्न गाह्रो भयो गाँठे।’
बैरीले सोध्यो, ‘के कुरा ?’
मट्याङ्ग्रोेले भन्यो, ‘देशमा जे बने पनि बनाउनेचाहिँ नेता, तर पैसा हाल्नेचाहिँ तँ–हामी जनता होइनन्। यो हिसाब मैले बुझ्न सकिनँ।’
बैरी हाँस्यो। ‘कसरी ?’
‘हेर न,’ मट्याङ्ग्रोले भन्यो, ‘टुँडिखेल कसैले बनाएको रहेछ। सेतो टावर कसैले बनाएको रहेछ। ऊ त्यो अस्पताल पनि कसैले बनाएको रहेछ। सडक कसैले बनाएको रहेछ। अनि मैले हिसाब गर्दा पैसा कहाँबाट आयो भनेर खोज्छु, त्यो त तँ–म जस्तो जनताको करबाट रहेछ त!’
बैरीले भन्यो, ‘त्यसो भए तिमीले ठूलो रहस्य पत्ता लगाएछौ।’
‘रहस्यमात्रै होइन बैरी,’ मट्याङ्ग्रोेले भन्यो, ‘मलाई त डर लाग्न थालेको छ। भर्खरै बाढीले त्राही भएका जनताको घरको छानो पनि सरकारले बनाइदियो भने कुनै नेताले ‘यो छानो मैले बनाएको हो’ भनेर सामाजिक सञ्जालमा लेखिदेला कि भनेर।’
बैरी फेरि हाँस्यो।
‘प्रधानमन्त्रीले नयाँ दलले कार्यक्रम गरेको विषयमा टुँडिखेल मैले बनाइदिएको हुँ, त्यही ठाउँमा कार्यक्रम गरेर मलाई गाली गर्छन् भनेर सामाजिक सञ्जालमा जञ्जाल गरेको कुरा सुनिनस् ?’
‘सुनेँ नि।’
‘त्यही भएर त म सोच्दै छु, टुँडिखेल साँच्चै उहाँले आफ्नो घरको आँगन बेचेर बनाइदिनुभएको हो कि जनताको करबाट बनेको हो ?’
बैरीले केहीबेर चुप लागेर भन्यो, ‘इतिहास हेर्नुपर्छ मट्याङ्ग्रो।’
मट्याङ्ग्रोेले भन्यो, ‘इतिहास त हेरौंला, तर पहिले हिसाब हेरौं। जनताले कर तिरे। सरकारको ढुकुटीमा पैसा गयो। योजना बन्यो। ठेक्का लाग्यो। निर्माण भयो। अनि रिबन काट्ने हामीले भोट हालेका नेता गए। अनि त्यही रिबन काट्नेले मैले बनाइदिएको भन्यो भने ?’
‘ठीकै कुरा गरिस्।’
‘त्यसो भए, जनताले के गरे त ?’ मट्याङ्ग्रोेले सोध्यो।
बैरीले भन्यो, ‘कर तिरे। मत दिए। घाममा उभिए। नेतालाई जिताए। उ हेर न यिनीहरु पनि जिताउन नै आएका हुन्।’
कस्तो गज्जबको गणित रहेछ हाम्रो देशको! पैसा जनताको, पसिना जनताको, मत जनताको, संरचना जनताको, तर नामचाहिँ नेताको!
बैरीले भन्यो, ‘त्यही भएर त भनेको नि राजनीति।’
‘त्यसो भए राजनीति भनेको जनताको पैसामा आफ्नो नाम लेख्ने कला रहेछ ?,’ मट्याङ्ग्रोेले सोध्यो।
बैरीले जवाफ दिएन।
‘उ त्यो धरहरा होइन, सेतो टावर हो। तर टावर बनाउन पैसा कसको गयो ? नेताको पुर्खाले कमाएको सम्पत्ति बेचेर आयो ?’
बैरीले भन्यो, ‘त्यस्तो पनि होइन।’
‘त्यसो भए ?,’ मट्याङ्ग्रोेले फेरि सोध्यो।
‘सडक बन्यो भने जनताको कर। पुल बन्यो भने जनताको कर। अस्पताल बन्यो भने जनताको कर। विद्यालय बन्यो भने जनताको कर। टावर बन्यो भने जनताको कर। खानेपानी आयो भने जनताको कर। विद्युत् आयो भने जनताको कर। अनि फेरि किन मैले बनाएको भन्छन् त ?’
बैरीले भन्यो, ‘तर नेतृत्व त उनीहरूले गरे नि त!’
‘जनताले के गर्न पठाएको त्यही गर्न पठाएको होइन ? त्यसैले नेतृत्वको श्रेय लिनुस्, जिम्मेवारी लिनुस्। तर जनताको पैसाले बनेको संरचनालाई आफ्नो निजी सम्पत्तिजस्तो नबनाउनुस्।’
मट्याङ्ग्रोेले टुँडिखेलमा आँखा डुलायो। ‘यो टुँडिखेल पनि जनताको हो। खुलामञ्च पनि जनताको हो। यहाँ सभा गर्ने अधिकार पनि जनताको हो।’
‘हामीलाई बाल्यकालदेखि पढाइयो सरकार जनताको हो। कर जनताले तिर्छन्। सरकार जनताका लागि काम गर्छ। तर अहिले भाषण सुन्दा लाग्छ, सरकार निजी कम्पनी हो, नेता त्यसका मालिक हुन्, जनता सेयरधनी पनि होइनन्!’
बैरीले हाँस्दै भन्यो, ‘मालिक को हो त ?’
मट्याङ्ग्रोेले भन्यो, ‘मालिक जनता हुन्। नेता त व्यवस्थापक हुन्। पाँच वर्षको जिम्मेवारी लिनु है भनेर मत हालेर छानेर पठाएका व्यवस्थापक।
हैन हो बैरी, हामीले एउटा दासप्रथा अन्त्य गरेर अर्को आधुनिक र स्वयंसेवक दासको सुरुवात गरिरहेका त छैनौं ? हामीले प्रश्न गर्न बिर्सियौं कि डरायौं ? नेताले राम्रो काम गरे भने धन्यवाद दिनुपर्छ। गलत गरे भने प्रश्न गर्नुपर्छ। जनताको पैसामा व्यक्तिगत स्वामित्वको भाव देखाउँदा हामीले भन्नुपर्छ। हजुर, तपाईंले नेतृत्व गर्नुभयो, निर्णय गर्नुभयो, बजेट व्यवस्थापन गर्नुभयो। तर पैसा हाम्रो पनि थियो।’
‘ऊ त्यो के हो हेर त,’ मट्याङ्ग्रोेले भन्यो।
बैरीले महाँकाल मन्दिरतर्फ हेर्दै भने, ‘त्यो त महाँकालको मन्दिर हो। माथिकोचाहिँ गजुर।’
‘त्यो मन्दिरको गजुर र मेरो टाउको भएका टुप्पीबीच वार्ता भइरहेको अनुभूति भइरहेको छ मलाई,’ मट्याङ्ग्रोेले भन्यो।
बैरी हाँस्यो।
‘अब एउटा अभियान थालौं, सरकारले सार्वजनिक हितका लागि जे बनाए पनि शिलालेखमा यस संरचनामा फलानो नेताको नेतृत्वमा नेपाली जनताले तिरेको करबाट निर्माण भएको हो भन्ने लेखौं,’ मट्याङ्ग्रोेले भन्यो।
बैरी फेरि हाँस्यो।
‘हिजो रोजगारीका लागि कलकारखाना खुले। उद्योग बने। कतिपय राजाका पालामा बने भनेर इतिहासमा पढियो। त्यतिबेलाका शासकले पनि आफ्नै खल्तीबाट उद्योग खोलेका थिएनन् होला। राज्यको पैसा थियो। जनताको श्रम थियो। देशको स्रोत थियो।’
‘अनि आज ?,’ बैरीले सोध्यो।
‘आज त झन् गज्जब छ,’ मट्याङ्ग्रोेले भन्यो, ‘कलकारखाना बन्द छन्। कतिपय संरचना खरानी भएका छन्। सम्पदा भत्किएका छन्। रोजगारी हराएको छ। तर सबैले मैले बनाएँ भन्छन्। त्यसो भए बन्द भएका कलकारखानको जिम्मा लिने को त ?
बैरी चुप भयो।
‘कारखाना बनाउँदा मैले बनाएँ। कारखाना बन्द हुँदा अघिल्लो सरकारले गर्यो। सडक बनाउँदा मैले बनाएँ। सडक भत्किँदा ठेकेदारको दोष। अस्पताल बनाउँदा मेरो पहल। अस्पतालमा औषधि नभए कर्मचारीको दोष। टावर बनाउँदा मेरो उपलब्धि। टावरको ऋण तिर्नुपर्दा राज्यको दायित्व! क्याबात्। त्यसो भए। यो वर्ष यत्रो विपद् आयो त्यो चाहिँ कसले जिम्मा लिने होला ?,’ हाँस्दै मट्याङग्रोले बैरीलाई सोध्यो ?
खुलामञ्चतिर मानिसहरू आइरहेका थिए। झण्डा फहराइरहेका थिए। भाषणभुषण आउने–जाने भइरहेकै थियो।
‘देशमा सबैले आफूले बनाएको, आफूले गरेको, आफूले बचाएको भनेर झगडा गरिरहेका छन्,’ मट्याङग्रोले हाँस्दै भन्यो, ‘यो टुँडिखेलमा मेरो दुई–चार रुपैयाँ त परेको होला, त्यही भएर यो चाहिँ मैले बनाएको होइन है! ऊ त्यो सेतो टावरमा पनि मेरै पैसा छ है तर त्यो पनि मैले बनाएको होइन है!’
मट्याङ्ग्रोेले उत्तरतर्फ रहेको शान्तिवाटिकातिर हेर्यो अनि बैरीलाई भन्यो, ‘सबै यही टुँडिखेलमा मैले गरेको भन्दै गरून्। आऊ, तिमी–हामी रित्तै आएका हौं, रित्तै जाने हांै। यस्ता कलहभन्दा शान्तिवाटिकामै शान्तिको खोजी गरौं।’
दुवै शान्तिवाटिकातिर लागे। तर पछाडि माइकबाट आवाज आइरहेको थियो। कतै अक्षर त कतै स्वरलाई प्रयोग गरेर बर्बराइरहेका। वर्षौंदेखि टुँडिखेलमात्र मौन... मौन... भएर सुनिरहेको छ। अनि आफ्नै छातीमा बुट बजार्नेहरुलाई पनि भरिहेको छ। म टुँडिखेल, मैले त बनाएको होइन हौ टुँडिखेल! सायद रामराज्य भनेकै यस्तै होला! ?