काठमाडौं- नेपाल हस्तकला महासंघले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ। महासंघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाल पश्मिना इण्डष्ट्रिकी सञ्चालक लालु श्रेष्ठसहित २२ महिला उद्यमीलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा अञ्जना ताम्रकार, रत्नेश्वरी श्रेष्ठ, अरुणा शाक्य, रुकमणिदेवी श्रेष्ठ, दिव्यतारा तुलाधर, अरुणा लाकोल, रोशनी तुलाधर, रामकली खड्का, शान्ति बैद्य, मिलु थापा, संगीता पन्त, गंगा छन्त्याल छन्।
त्यस्तै, धनमाया शाक्य, अनुजा बुढाथोकी, कमला श्रेष्ठ, मञ्जु शाक्य, इन्दिरा सापकोटा, उर्मिला श्रेष्ठ, सविता सुवेदी, मिला शर्मा र सुमान्जली शाक्य सम्मानितभएका छन्। उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, महासंघका अध्यक्ष रवीन्द्र शाक्यले सम्मान गरे।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपालको आर्थिक क्षेत्रको विकासमा महिला उद्यमीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उनले हस्तकला क्षेत्रको विकासमा बागमती प्रदेश सधैँ सकारात्मक रहेको उल्लेख गरे।
नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले धेरै निर्यातकर्ता र उत्कृट उद्यमी, उत्कृष्ट कलाकारलाई सम्मान गर्दै आए पनि महिला उद्यमीलाई भने पहिलोपटक सम्मान गर्न पाएकोमा खुसी लागेको बताए।
महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सविता सिंह महर्जनले मुलुकको हस्तकला क्षेत्रको विकासमा महिला उद्यमीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। विसं २०२९ मा स्थापना भएको महासंघका हाल चार हजार ५०० सदस्य छन्। तीमध्ये एक हजार ५०० क्रियाशील सदस्य छन्।