ललितपुर - ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि मुकुन्द महर्जनले कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको ४७ औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आगामी असोज २३ र २४ गते निर्वाचन हुँदैछ ।
संघका पूर्व कार्यसमिति सदस्यसमेत रहेका महर्जनले आगामी निर्वाचनमा कोषाध्यक्ष पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएका महर्जनले संघलाई थप व्यवस्थित, प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् ।
३८ वर्षदेखि निरन्तर व्यावसायिक क्षेत्रमा सक्रिय महर्जनले विभिन्न व्यावसायिक संघ–संस्थामा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी नेपाल मदिरा व्यवसायी महासंघका पूर्व सह–कोषाध्यक्षसमेत हुन् । उक्त जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई संघको आगामी नेतृत्वमा उपयोग गर्ने उनको भनाइ छ ।
महर्जनले ललितपुर उद्योग वाणिज्य संघको सुविधा सम्पन्न र व्यवसायीमैत्री भवन निर्माणलाई प्रमुख उद्देश्यका रूपमा अघि सारेका छन् । संघको आफ्नै व्यवस्थित भवन निर्माणसँगै उद्योगी तथा व्यवसायीलाई आवश्यक सेवा, सुविधा र व्यावसायिक गतिविधिका लागि सहज वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ ।
उम्मेदवारी घोषणा गर्दै महर्जनले संघमा आबद्ध उद्योगी तथा व्यवसायीको विश्वास, साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको बताए । निजी क्षेत्रले पछिल्लो समय भोगिरहेका समस्या तथा चुनौतीलाई सम्बन्धित सरकारी निकायसमक्ष प्रभावकारी रूपमा उठाउँदै व्यावहारिक समाधान खोज्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘निजी क्षेत्रको आवाजलाई अझ सशक्त रूपमा सम्बन्धित निकायसम्म पु¥याउँदै उद्योगी–व्यवसायीको हकहित, व्यवसायिक सुरक्षा र अनुकूल व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नेछु,’ महर्जनले भने ।
उनले संघीय, प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गरी उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । व्यवसायीका लागि नीति निर्माणदेखि सेवा प्रवाहसम्म देखिएका व्यावहारिक कठिनाइलाई सम्बन्धित तहमा पु¥याएर समाधान खोज्नु संघको महत्वपूर्ण जिम्मेवारी भएको उनको धारणा छ ।
व्यावसायिक क्षेत्रमा सफल उद्यमीका रूपमा परिचित महर्जन तीन टु तीन लिकस्ट स्टोर, मुकुन्द स्टोर र जेवियर स्नोकर्स हाउस र मुकुन्द ट्रेडिङका प्रबन्धक हुन् । साथै उनी होम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् ।
लामो व्यावसायिक अनुभव, संघ–संस्थामा काम गरेको अनुभव र निजी क्षेत्रका समस्या नजिकबाट बुझेको आधारमा आफूले कोषाध्यक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने महर्जनको विश्वास छ ।