सुनसरी- इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजनामा गरेको मेलाको बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरे।
सो क्रममा सभामुख अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेमा जोड दिए। उनले रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने धारणा राखेका छन्।
उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमामात्र नभई सीपयुक्त, उत्पादनशील र रोजगारी सिर्जना गर्नसक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
आन्तरिक श्रमबजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो। युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी सार्क संवाद’ विषयमा विशेष प्यानल छलफल सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्री यादवले बताए ।
असोज १५ देखि १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुने छन्।