नेपालमा सरकार परिवर्तन हुनु भनेको अब पुरानो मोबाइलमा नयाँ कभर हाल्नुजस्तै भएको छ। बाहिरबाट हेर्दा कभर चम्किलो, नयाँ, आकर्षक र महँगो देखिन्छ। तर मोबाइलभित्रको ब्याट्री उही, स्पिकर उही, चार्जिङ पोर्ट उही अनि कहिलेकाहीँ त स्क्रिन पनि उही फुटेको।
जनताले पनि कभर हेरेर केही समय त पत्याउँछन्। ओहो! यसपटक त नयाँ सरकार पो आयो! सरकारले पनि सामाजिक सञ्जालमा फोटो हाल्छ। बैठक बसेको, फाइल हेरेको, निर्देशन दिएको, निरीक्षण गरेको, हेलिकप्टरबाट हेरेको, सडकबाट हेरेको, भिडियो कल गरेको। ओहो के–के हो के–के। पूरै फिल्मजस्तो।
जनता फेरि सोच्छन्, अबचाहिँ केही होला कि क्या हो! तर केही दिनपछि पुरानै प्रश्न फर्किन्छ, भएकोचाहिँ के हो? यही प्रश्न अहिले नेपालको राजनीतिले आफैंलाई सोध्नुपर्ने बेला आएको छ।
दुईतिहाइको सरकार छ। युवा पुस्ताको ठूलो अपेक्षा छ। पुराना राजनीतिक शैली बदलिन्छन् भन्ने आशा छ। तर सरकारभित्रै खटपट, आरोप–प्रत्यारोप र शक्ति संघर्षका समाचार आउन थालेपछि जनता फेरि पुरानै तमासा हेर्न बाध्य छन्।
उता चोलेन्द्रलाई पक्राउ गर्ने कुरा चर्चामा आउँछ। यता सरकारभित्रकै राजनीति तात्छ। एकथरी भन्छन्– कानुन सबैका लागि बराबर हुनुपर्छ। अर्काथरी प्रश्न गर्छन्– कानुनी प्रक्रिया के हो? कसलाई किन पक्राउ गर्ने? कसको जिम्मेवारी के हो? जनता भने मोबाइल हातमा लिएर हेर्छन् दंग पर्दछन्।
हिजो आज चोलेन्द्रको समाचार हो कि सरकारको? अनि अर्को सामाजिक सञ्जालमा भट्याउँछ। सरकारभित्र रडाको!
जनता भन्छन्– ए, त्यो पनि सरकारकै कार्यक्रम रहेछ!
दुईतिहाइको सरकार छ। युवा पुस्ताको ठूलो अपेक्षा छ। पुराना राजनीतिक शैली बदलिन्छन् भन्ने आशा छ। तर सरकारभित्रै खटपट, आरोप–प्रत्यारोप र शक्ति संघर्षका समाचार आउन थालेपछि जनता फेरि पुरानै तमासा हेर्न बाध्य छन्।
नेपालमा अहिले एउटा नयाँ राजनीतिक सिद्धान्त जन्मिएको जस्तो देखिन्छ, घण्टी सरकारले भ्वाङ पार्ने, त्यही सत्तामा बसेको घण्टीले टिङरिङ पार्ने!
बालेनपक्ष भ्वाङ पार्दै हिँड्ने, रविपक्ष टाल्दै हिँड्ने भन्ने राजनीतिक व्यंग्य पनि सामाजिक सञ्जालमा सुन्न र हेर्न सकिन्छ। तर प्रश्न यहाँ बालेन वा रविकोमात्र होइन। प्रश्न के हो भने देश चलाउने काम यदि भ्वाङ पार्ने र टाल्ने प्रतियोगिता बन्यो भने सडक, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र अर्थतन्त्र कहिले बनाउने?
एकले भ्वाङ पार्छ। अर्कोले टाल्छ। फेरि अर्कोले टालिएको ठाउँ खोतल्छ। फेरि पहिलोले भन्छ– मैले त भ्वाङ पारेकै होइन, पहिलेदेखि थियो।
जनता भन्छन्– हामीले त सडक मागेका थियौं, तपाईंहरूले बहसको खाल्डो खन्नुभएछ! हैट, बुझेर पनि बुझिसाध्य छैन।
सञ्जालको जवाना छ। सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा निकै सक्रिय छन्। एआईको जमाना छ। फोटो मिलाउन सकिन्छ। भाषण छोट्याउन सकिन्छ। भिडियो बनाउन सकिन्छ। कामको रिपोर्टलाई आकर्षक बनाउन सकिन्छ। पाँच मिनेटको कामलाई १५ मिनेटको भिडियो बनाउन सकिन्छ। अब त सरकारका काम हेर्न कार्यालय जानै पर्दैन। फेसबुक खोल्यो, सरकार काममै काम गरिरहेको देखिन्छ।
मन्त्रीज्यू निरीक्षणमा। मन्त्रीज्यू बैठकमा। मन्त्रीज्यू निर्देशनमा। मन्त्रीज्यू अनुगमनमा। मन्त्रीज्यू डिजिटल। मन्त्रीज्यू एआईमा। मन्त्रीज्यू लाइभमा। जे होस् लाइक, कमेण्ट राम्रै छ। भ्युज पनि राम्रै आको छ। कसैको केही गर्नै पर्दैन डलर पनि फुत्तफुत्त एक–दुई सेण्ट झरेकै छ।
तर बोली र काम फरक। युवाको हातमा रोजगारी कहिले पुग्यो? अस्पतालमा औषधि कहिले पुग्यो? बाढीपीडितसम्म राहत कहिले पुग्यो?
त्योचाहिँ एआईले पनि देखाउन सक्दैन। किनभने एआईले चित्र बनाउन सक्छ, वास्तविकता बनाउन सक्दैन। किनकि, त्यो पनि विवादित नै छ।
त्यही भएर पनि होला सरकारका निर्णयहरू किन विवादित भइरहेका छन् भन्ने प्रश्नले ठाउँ पाको छ। निर्णय गर्नु सरकारको अधिकार हो। तर लोकतन्त्रमा अधिकारसँगै उत्तरदायित्व पनि आउँछ।
हामीले निर्णय गर्यौं, त्यसैले ठीक। यस्तो शैली लोकतान्त्रिक शासन होइन। लोकतन्त्रमा अर्को प्रश्न पनि सुन्नुपर्छ।
जनता सोध्छन, किन?
सरकार भन्छ, हाम्रो नीतिअनुसार हामीले निर्णय गरिसक्यौं। सकियो।
सरकार फेरि सामाजिक सञ्जालमा अर्को भिडियो हाल्छ। ऐतिहासिक उपलब्धि! कमेण्ट बक्समा आउँछ। सरकारले मेरो मुटु चुँडेर लग्यो। वाऽहा सरकार वा अघि बढ। वाऽ भन्नेलाई के थाहा ऐतिहासिक उपलब्धि कहाँ भयो? सम्भवतः सामाजिक सञ्जालमा।
जे होस्, क्लबकै रुपमा भए पनि राज्यसत्ता चलेकै छ। सरकार भएको अनुभूति भएकै छ। फलानो प्रधानमन्त्री, फलानो गृहमन्त्री वा फलानो यो त्यो मन्त्री भन्न पाएकै छ त। अब के चाहियो। क्लब हो कि बार! क्लबमा अध्यक्षले आज कार्यक्रम हुन्छ। भनेपछि हुन्छ।
सदस्य बोल्छ, हुन्छ। कोषाध्यक्षले भन्यो, बजेट छैन। अध्यक्षले भन्यो व्यवस्था गरौंला। सचिवले भन्यो सूचना निकालौं? अध्यक्षले भन्यो, फेसबुकमा हालेपछि सबै पुग्छ।
नेपालको सरकार पनि कतै त्यस्तै त भएको छैन? जनताको प्रश्न भित्रभित्र मनमा मडारिएको छ। पहिला घोषणा। पछि तयारी। त्यसपछि विवाद।
फेरि स्पष्टीकरण। अनि छानबिन। अन्त्यमा समिति। समितिले प्रतिवेदन दिन्छ। प्रतिवेदनमाथि अर्को समिति बन्छ।
अनि जनता सोध्छन्, कामचाहिँ कहिले?
उत्तर आउँछ, छिट्टै।
विश्वका अरू देशहरू कहाँबाट कहाँ पुगिसके। हामी भने अझै विमानस्थलको लाइन, पासपोर्टको लाइन, सरकारी कार्यालयको लाइन, ग्यासको लाइन, पेट्रोलको लाइन, उपचार गराउनका लागि जहाँ गयौं त्यही लाइन। क्या मज्जा!
प्रजातन्त्र आएको ३७ वर्ष पुग्न लाग्यो। गणतन्त्र आएको दुई दशक पुग्न लाग्यो। व्यवस्था बदलियो। संविधान बदलियो। सरकार बदलियो। दल बदलियो। नेताको अनुहार बदलियो। मन्त्रालयका नाम बदलियो। तर एउटा कुराचाहिँ खासै बदलिन सकेन। त्यो भनेको जनताको जीवन।
हामीले सधैं भन्यौं, अब नयाँ युग सुरु हुन्छ। नयाँ युग आयो पनि। तर नयाँ युगले पुरानो फाइल बोकेर आयो। पुरानो प्रशासन बोकेर आयो। पुरानो भ्रष्टाचारको डर बोकेर आयो। पुरानो ठेक्का प्रणाली बोकेर आयो। पुरानो राजनीतिक संस्कार बोकेर आयो। अनि हामीले त्यसलाई भन्यौं, परिवर्तन।
जनयुद्धले देशलाई २० वर्ष, जेनजी विद्रोहको आगोले अर्को १५ वर्ष अनि अहिलेको बाढी पहिलोले अर्को १० वर्ष धकेलियो देश।
विश्वका अरू देशहरू कहाँबाट कहाँ पुगिसके। हामी भने अझै विमानस्थलको लाइन, पासपोर्टको लाइन, सरकारी कार्यालयको लाइन, ग्यासको लाइन, पेट्रोलको लाइन, उपचार गराउनका लागि जहाँ गयौं त्यही लाइन। क्या मज्जा!
युवाहरू देश छोडिरहेका छन्। पहिले पनि छाड्ने अहिले पनि छाडेकै छन्। सरकार भने युवाहरू फर्किने कार्यक्रम बनाइरहेको छ।
देशमै सम्भावना छ। तर कहाँ छ? सरकारले भन्छ– तिम्रो मोबाइलमा चल्ने सामाजिक सञ्जालमा छ। त्यही भएर अहिले सरकारको नाम नै घण्टे सरकार राखिदिएका रैछन् बैरीहरुले। यत्रो दुईतिहाइको सरकारलाई घण्टे सरकार रे! प्रधानन्यायाधीशलाई समेत मध्यरातमा उठाउन सक्ने सरकार हो यो। उता भेनेजुएलाका राष्ट्रपति मादुरोलाई उठायो। यता चोलेन्द्रलाई चप्कायो। राति त राति नै हो नि! रातदिन नभनीकन सरकारका कण्टेन्ट क्रियटरहरु लागिरहेको छन्। बाढीपहिरोले घर बगाउँदा समेत तरररररऽरररऽ ताली पिट्छन्। सरकारले यदि साँच्चिकै नयाँ बाटो नसमातेको भए। यसरी तुरुन्ता तुरुन्तै जनताले कसरी थाहा पाउँथे?
हामी पनि त उही पुरानैका छोराछोरी त हौ नि। नपत्याए पाएका नियुक्ति हेर न। पहिला दाइभाउजुको रजाइँ हुन्थ्यो, अहिले भाइबहिनीहरुकै रजाइँ छ त!
प्रजातन्त्रको ३७ वर्ष, गणतन्त्रको २० वर्ष भएर त केही भएन अब हामी जाबो एकै वर्षका के नाप्छौं र हो? जनताले नेता चिनेको छैन, नेताले जनता चिनेको छैन। पहिले पहिले रत्नपार्कका चटक देखाउँथे, अहिले हातकै मोबाइलमा देखाइदिएकै छ त अब के चाहियो? जे हेरे पनि रमाइलै मान्ने त हो। एआई होस् कि बिआईले बनाको होस्। बाढीपीडितका लागि होस् कि म्यानपावर पीडितका लागि होस्। भ्रष्टाचारीलाई होस् कि घुसखोरीलाई होस्। सबैलाई पच्ने सबैजना बच्ने उही त हो! पशुपतिनाथले सबैको कल्याण गरुन्। जय नेपाल!