भरपर्दो सेवाजन्य उद्योगका रुपमा विगतको लामो समयदेखि पर्यटन क्षेत्रले छाप छोड्न सकेको छ । विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाका हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य रही आएको छ । सहरदेखि दूरदराजका बस्तीसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सकेमा पर्यटन उद्योगलाई आर्थिक सबलीकरण तथा रोजगारीको भरपर्दो व्यवसायको रुपमा विकास गर्न सकिन्छ । पर्यटन उद्योगलाई प्रमुख उद्योगका रुपमा संस्थागत विकासका लागि सरकारले चालेका नीतिगत कार्यक्रममा थप पृष्ठपोषण र सहकार्यको आवश्यकता छ । जसमा निजी तथा सार्वजनिक क्षेत्रको सक्रियता र सहकार्यले महत्व राख्दछ । सरकारले यस वर्षको नीति तथा कार्यक्रममा पनि पर्यटन क्षेत्रलाई महŒव दिएर यसको दीर्घकालीन विकासका लागि साझेदारी विकासका अवधारणालाई अघि सारेको छ ।
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अपार जनधनको क्षति हुनपुग्यो । चौध सयभन्दा बढी जनताको अनाहकमा बाढीका कारण ज्यान गयो । छ हजारभन्दा बढी बेपत्ता छन् । खोजी उद्धार र राहतका प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्र्रहरी, नेपाल प्र्रहरीको सयुक्त प्रयास निरन्तर जारी छ । यो विनाशकारी बाढीका कारण पर्यटन क्षेत्रमा अकल्पनीयरुपमा अर्बौंको क्षति पुगेको छ । पर्यटन क्षेत्र थिलथिलो छ । उठन कयौं वर्ष लाग्छ । जेन–जी आन्दोलनका क्रममा संरचनागत क्षतिका कारण पर्यटनक्षेत्र पनि अछूतो रहन सकेनन् । होटल तथा पर्यटकीय आतिथ्यता प्रदान गर्ने दर्जनौं संरचनाको क्षति हुनु दुखद् तथा खेदजनक छ ।
सेवाप्रदायक तथा आतिथ्यता प्रदान गर्ने उद्योगलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरेर नेपालको पर्यटन क्षेत्रमा बेला बेलामा पर्न जाने राजनीतिक तथा हिंसात्मक र उत्तेजक गतिविधिबाट टाढा राख्नु न्यायसंगत रहला । यसमा सबैको इमान्दारिता र नैतिक दायित्व पनि रहन्छ । आशा गरौं भोलिका दिनमा र सबै याममा विदेशी पर्यटकको ओइरो लागिरहोस् ।
सरकारको नीति तथा कार्यक्रममा पर्यटनक्षेत्रको बहुआयामिक विकास र परिलक्षित कार्यक्रमलाई दिगो पर्यटन विकासका उद्देश्य निर्धारण गर्ने दिशामा परिणाममुखी हुने अपेक्षा गर्न सकिन्छ । मुख्यतः चारवटा बुँदामा पर्यटनसम्बन्धी सरकारका नीति तथा कार्यक्रम निर्धारण गरिएको छ । पर्यटनसम्बन्धी नीति तथा कार्यक्रममा नेपालको प्राकृतिक, सांस्कृतिक, आर्थिक सबलीकरणसँग जोड्ने । दिगो, पर्यावरण तथा वातावरणमैत्री पर्यटन प्रवद्र्धनलाई नीति कार्यक्रममा प्राथमिकीकरण गरिनु । योजनाबद्ध विकास र समुदाय केन्द्रित पर्यटन विकासका कार्यक्रमलाई अघि बढाउनु जरुरी देखिन्छ ।


नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुलाई विश्व सम्पदा सूचीमा राख्न पहललाई निरन्तरता दिँदै थप यस्ता धरोहरहरुलाई सूचीकृतका लागि पहलले तदारुकता पाओस् । नेपालको हवाई सेवा तथा नागरिक उड्डयन प्राधिकरणको प्रभावकारी नियमन तथा व्यवस्थापकीय सबलीकरणका लागि समयानुकूल ऐन निर्माण र परिमार्जनमा सरकारले प्राथमिकताका साथ कार्यपद्धतिलाई अवलम्बन गर्ने नीतिगत घोषणा भएअनुसार यसको कार्यान्वयन पक्षलाई तदारुकताका साथ कार्यक्षेत्रमा ल्याउनुपर्ने देखिन्छ ।
पर्यटन क्षेत्रको विकासका लागि एकीकृत र सघन रणनीतिक कार्यक्रमलाई सम्बोधन गर्न सकिएको खण्डमा सरकारका घोषित नीति कार्यक्रमले मूर्तता पाउला । यसका लागि पर्यटन, कृषि तथा पर्यावरणीय पक्षका आर्थिक उद्यमशीलता, रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्दछ । साथै, पर्यटनलाई भरपर्दो सेवा उद्योग वा व्यवसायका मान्यता दिने वातावरण हुनुपर्यो । स्थानीय कृषि, पशुपालन, वनपैदावर र पर्यापर्यटनलाई रोजगारी र व्यावसायिक वातावरणसँग जोड्ने कार्यकलापले निरन्तरता पाउनु पर्यो । ग्रामीण घरबास कार्यक्रम, सांस्कृतिक धार्मिक क्षेत्रका पर्यटकीय गन्तव्यको थप आकर्षक बनाउने दिशामा ध्यान पुग्नुपर्यो । यसका साथै नेपालको हवाई क्षेत्रको सुरक्षाको प्रत्याभूतिले अन्तर्राष्ट्रिय मान्यताको प्रत्याभूति पाउने दिशामा सक्दो छिटो टुंग्याउनुपर्यो ।
पर्यटन प्रवर्द्धन र समयानुकूल विकासका सवालमा विभिन्न मुलुकमा भए गरिएका प्रयासलाई उदाहरणीय कार्यका रुपमा लिने बानीको थालनी हामीले कहिले गर्ने ? उदाहरणका रुपमा सन् ८० को दशकमा दुई दशकभन्दा बढी गृहयुद्धको भयावह अवस्थाबाट गुज्रिएको क्याम्बोडियाले पछिल्ला समयमा राजनीतिक स्थिरता, योजनाबद्ध पर्यटन प्रवद्र्धन र विकासका रणनीतिक कार्यक्रमको सफल कार्यान्वयनका कारण पर्यटन क्षेत्रमा आश्चर्यजनक फड्को मारेको छ ।
पछिल्लो तथ्यांकलाई केलाउने हो भने पनि भारत, अमेरिका, चीन, बंगलादेश, अस्ट्रेलिया तथा जर्मनीबाट क्रमागतरुपमा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । विगतका केही वर्षको पर्यटकीय आगमनको तथ्यांकलाई विश्लेषण गरिएको खण्डमा नेपाल आउने पर्यटकहरुमा चिनियाँ, भारतीय, मलेसिया, सिंगापुर तथा खाडी मुलुकका पर्यटकहरुको आवागमन तथा उनीहरुको सेवा सुविधामा पुर्याउन सकिएको पर्यटकीय सेवाले नेपालको पर्यटकीय क्षेत्रको आर्थिक लाभका क्षेत्रमा निकै योगदान दिँदै आएको छ ।
सन्दर्भमा अबको दिनमा चिनियाँ तथा दक्षिणपूर्वी एसियाली मुलुकका पर्यटकको आकर्षणमा थप ऊर्जा दिने सवालमा सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ । अबको कार्यगत आवश्यकता भनेको ‘सबै समय, सबै याम पर्यटन सेवा’ मान्यताका आधारमा पर्यटन प्रवद्र्धन र पर्यटकीय सेवाको कार्यकलापहरु अझ विस्तार गर्न सकिएमा पर्यटन क्षेत्रको आशाका बुँदाहरु सिञ्चन गर्न सकिन्थ्यो कि ?
पर्यटन प्रवर्द्धन र समयानुकूल विकासका सवालमा विभिन्न मुलुकमा भए गरिएका प्रयासलाई उदाहरणीय कार्यका रुपमा लिने बानीको थालनी हामीले कहिले गर्ने ? उदाहरणका रुपमा सन् ८० को दशकमा दुई दशकभन्दा बढी गृहयुद्धको भयावह अवस्थाबाट गुज्रिएको क्याम्बोडियाले पछिल्ला समयमा राजनीतिक स्थिरता, योजनाबद्ध पर्यटन प्रवद्र्धन र विकासका रणनीतिक कार्यक्रमको सफल कार्यान्वयनका कारण पर्यटन क्षेत्रमा आश्चर्यजनक फड्को मारेको छ । प्रतिवर्ष लाखौंको संख्यामा विदेशी पर्यटकले भ्रमण गर्ने तथा ती पर्यटकको कुशलतापूर्वक आतिथ्यता प्रदान गर्न सकेको छ । यसका साथै पर्यटन गन्तव्यका दृष्टिकोणले निकै फड्को मारिसकेका दक्षिणपूर्वी एसियाली मुलुकहरु थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया तथा सिंगापुरमा पर्यटन विकासले उत्कृटता हासिल गर्न सकेको छ ।
छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतले विगतका केही वर्षदेखि गुणात्मक र परिणाममुखी पर्यटकीय विकासमा छलाङ मारेको छ । गुणस्तरीय पर्यटकको आतिथ्यता प्रदान गर्ने सवालमा नजिकको सार्क मुलुक भुटानको बजारीकरण र पर्यटकीय चलायमानताका असल अभ्यासबाट नेपालका पर्यटन व्यवसायीले निकै सिक्न सकिन्छ ।
विशेषतः पर्यापर्यटन, वातावरणीय मैत्री पर्यटन र धार्मिक पर्यटन (बौद्ध धार्मिकक्षेत्र) का आकर्षक पर्यटकीय प्याकेजबाट नेपाली पर्यटनक्षेत्र र व्यवसायीका लागि निकै ग्रहण गर्ने पाटाहरु छन् । जहाँ सरकारी पर्यटन नीतिले पनि निकै सरहानीय कार्य गरेको छ । छिमेकी र आसपासका क्षेत्रका मुलुकले गरेका असल अभ्यासको सिको हामीले पनि गर्ने र हाम्रा मौलिक पर्यटकीय गन्तव्यको बजारीकरण र गुणस्तरीय सेवा दिने दिशामा क्रियाकलाप र भोगाइ एकलव्य दृष्टि हुनुपर्छ ।
एकीकृत ग्रामीण पर्यटन विकासका कार्यक्रमलाई समन्वयात्मक ढंगबाट अघि बढाउने दिशामा ठोस पहल गरिनु सान्दर्भिक रहला । ग्रामीण पर्यटन प्रवर्द्धन तथा कृषि उत्पादन र कृषिजन्य उद्यमशीलता विकासका कार्यक्रमहरुलाई साथसाथ अघि बढाऔं । पछिल्लो समयमा घरवास ग्रामीण पर्यटनको विकास र विस्तारले केही संस्थागत पाइला चालेको सन्दर्भमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि अझ प्रभावकारी पर्यटकमैत्री वातावरण निमार्णका दिशामा पहलकदमी आवश्यक छ । पर्यापर्यटकीय गन्तव्यस्थलमा पर्यटकका सेवा र आतिथ्यतामा स्थानीय ग्रामीण जनताले तत्अनुकूल पर्यटकमैत्री सेवा दिने दिशामा सचेत र इमान्दारिता देखाउँ । साथै, सेवासुविधा र पर्यटकले सन्तोषको आत्मबोध गर्ने वातावरण आधारभूत अधिकार भइसक्यो भन्ने चिन्तनलाई सोचौं र मनन गरौं ।
पर्यटकीय गाउँहरुमा स्थानीय जनताकै घरआँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ लिन सकिन्छ । हामीले थालनी पनि निकै पहिले गर्याैं । तर सन्तोषजनक परिणाम पाउन सकिएको छैन । सिकौं र अघि बढौं । घरवास पर्यटनका दृष्टिकोणले दक्षिण एसियाकै नमूना लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी, म्याग्दीको पुनहिललगायत अन्नपूर्ण पदमार्ग सर्किटका विभिन्न बस्तीहरु अनि सगरमाथा बेसक्याम्प तथा लाङटाङ पदयात्रा पर्यटनलगायतका क्षेत्रमा प्रवद्र्धनका आयामलाई अझ फराकिलो गर्न सकिएको खण्डमा राम्रो हुने थियो ।
नेपालको पर्यटन क्षेत्रको नवप्रवर्द्धन र पुनरुत्थानका लागि हाम्रो साझा प्रयास हुनुपर्छ । नीतिगत कार्यक्रममा पर्यटकीय विशेषता र मौलिक पहिचानसहितका उत्थानशील कार्यक्रममा जोड दिनुपर्दछ । अर्थतन्त्रको सवल हिस्साको पर्यटन क्षेत्रमा दिगो सोचले जरा गाडेमा उत्साहजनक परिणाम पाउन कुर्नु नपर्ला ।