मुस्ताङ– शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण (जोमसोम–कोरला) सडकखण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ। म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरबाट कोरला नाकासम्मको सडकमा ठाउँठाउँ पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो।
वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्णरूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प हुँदा सयौं कन्टेनर भन्सार यार्डमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शनिबार रातिको भारी वर्षा र हिमपातले मुस्ताङको काभ्रेभीरबाट कोरला नाकासम्मको सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी–मुस्ताङ सिमाना काभ्रेभीर खण्डमा पहिरोसँगै ठूलाठूला ढुंगा खसेर सडक अवरुद्ध बनेको छ। भारी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसा क्षेत्रका कतिपय ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको उनले जानकारी दिए। उनले तल्लो घाँसा, घाँसा चेकपोस्ट नजिकलगायत स्थानमा सडक माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए।
यसैगरी घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिकैको फाराम खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए। बाढीका कारण सडक अवरुद्ध भए पनि भौतिक क्षति नभएको उनले बताए। त्यहाँ गाउँपालिकाको डोजर लगेर सडक खुलाउने प्रयास गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोरला नाका जोड्ने जोमसोम–पान्डा खोला सडकमा शनिबार रातिको वर्षाले सडक माथिबाट पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको छ। यहाँका प्रहरी निरीक्षक बस्यालका अनुसार कागबेनीबाट वारागुङ–३ चैलेसम्मको सडक पनि अवरुद्ध भएको छ।
कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्र्याक पूर्णरूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ। कागबेनीदेखि चैलेसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक संरचनामा क्षति पुगेको उनले उल्लेख गरे।
यसैगरी मुस्ताङमा शनिबार राति भारी वर्षा भइरहँदा लोमान्थाङ र कोरलानाका क्षेत्रमा भारी हिमपात भएको छ। लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का इञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका र भन्सार क्षेत्रमा शनिबार राति भारी हिमपात भएको छ।
हिमपातका कारण कोरलानाकाको दशजगजा क्षेत्रमा पाल टाँगेर बस्ने स्थानीय व्यापारी समस्यामा परेका छन्। भारी हिमपातले स्थानीय व्यापारीले टाँगेका आधा दर्जन बढी पाल भत्किएका छन् भने कोरलाबाट लोमान्थाङ आवतजावत गर्ने राष्ट्रिय राजमार्ग सडक हिउँले पूर्णरूपमा अवरुद्ध बनेको बिओपी इञ्चार्ज धितालले उल्लेख गरे। रासस