काठमाडौं- मनाङस्थित हिमलुङ हिमालको बेसक्याम्पमा हिमपहिरो जाँदा १२ जना बेपत्ता भएका आशंका गरिएको छ।
मनाङको नार्पाभूमि गाउँपालिका-५ मा पर्ने उक्त हिमालमा आइतबार बिहान गएको पहिरोमा परी उनीहरु बेपत्ता भएको आशंका गरिएको हो। उनीहरु अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएका बताइएको छ।
मनाङका प्रमुख जिल्ला मुक्तिप्रसाद खनालले आरोहणमा गएका २२ जनामध्ये करिब १२ जना बेपत्ता भएको आशंका गरिएको बताए। हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए।
उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए।
यसैबीच नेपाल प्रहरीले उद्धार टोली घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएको छ। 'घटनाको जानकारी प्राप्त भएपछि उद्धार टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ,' प्रहरीले भनेको छ।