काठमाडौं – नेपाली कांग्रेसको आसन्न १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत आन्तरिक चुनावी सरगर्मी तीव्र रूपमा बढेको छ। यसै क्रममा काठमाडौं जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा पार्टी नेतृत्व र संगठन सुदृढीकरणका लागि ओम कृष्ण विमलीले क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
‘हाम्रो होइन, राम्रो नेतृत्व चयन गरौैं’ भन्ने मूल नारा र बुढासुब्बा÷रूखको साझा साझा एजेन्डासहित विमली चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाली कांग्रेसको गौरवमय इतिहास, संस्थापक नेताहरू बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, र सुशील कोइरालाको आदर्श र विचारलाई आत्मसाथ गर्दै उनले संगठनलाई थप चलायमान बनाउने संकल्प लिएका छन् ।
उम्मेदवारी घोषणा गर्दै विमलीले भने, ‘अहिलेको समय पद ओगट्ने मात्र होइन, निष्ठा र जिम्मेवारी बहन गर्ने समय हो। व्यक्तिवादी राजनीतिभन्दा माथि उठेर विचार, लोकतान्त्रिक मूल्य र पार्टीभित्र वास्तविक परिवर्तन ल्याउनका लागि मैले क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएको हुँ।’
पार्टीका युवा, पुराना र निष्ठावान नेता तथा कार्यकर्ताहरूलाई समेट्दै अघि बढ्ने विमलीको योजना छ। उनले काठमाडौं क्षेत्र नं. ५ का आम महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र आम कांग्रेसजनसँग आफ्नो उम्मेदवारीलाई सफल पार्न अमूल्य मत र रचनात्मक सुझावको हार्दिक अपिल समेत गरेका छन् ।
कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार यतिबेला देशभर विभिन्न तहगत अधिवेशनहरू उत्साहपूर्वक सम्पन्न भइरहेका छन् भने आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न हुँदैछ।
क्षेत्र नं. ५ मा विमलीको उम्मेदवारी आएसँगै त्यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक र उत्साहजनक बन्ने कांग्रेस वृत्तमा चर्चा सुरु भएको छ।