काठमाडौं– गत वर्षको असार पहिलो हप्ता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका प्रत्यक्ष राजनीतिमा आउन पूर्णतयारीमा थिइन् । सक्रिय राजनीतिमा आउने भएपछि उनले राज्यबाट पाउने विभिन्न सुविधा पनि त्यागिन् ।
त्यतिबेला एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एक किसिमको विद्रोहको तयारी पनि थियो । नेताहरु सुरेन्द्र पाण्डे, विष्णुप्रसाद पौडेल, योगेश भट्टराईहरुले अभियान चलाउँदै गर्दा भण्डारी सदस्यता नवीकरण गरेर नेतृत्व लिन तयार थिइन् । अध्यक्ष ओली त्यतिबेला प्रधानमन्त्रीसमेत थिए ।
भण्डारीको आगमनले आफ्नो पद धरापमा पर्ने देखिएपछि ओलीले तत्कालै पूर्वराष्ट्रपतिले राजनीतिमा आउनै नहुने निर्णय गरे । भण्डारीको निर्णयले झस्केका ओलीले उनको सदस्यता नवीकरण नै खारेज गरिदिए । ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भनेर हामीले निष्कर्ष निकालेका छौं । अब सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भयो,’ अघिल्लो वर्षको साउन ७ गते महासचिव शंकर पोखरेलले भनेका थिए ।
त्यसपछि भदौ २३ र २४ गते जेन–जी विद्रोह भयो । ओली सत्ताच्युत भए । त्यसै वर्षको पुस ३ गते सम्पन्न ११औं महाविधेशनले ओलीलाई तेस्रोपटक पनि अध्यक्षमा निर्वाचित बनाइदियो । ओली अध्यक्षमा निर्वाचित भए पनि पछिल्लो समय आफूनिकटकै नेताहरु उनीविरुद्ध मोर्चाबन्दीमा उत्रिए । महासचिव पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु मोर्चाबन्दीमा उत्रिएपछि ओलीले भण्डारीलाई पार्टीमा ल्याउनुबाहेक विकल्प देखेनन् ।
बिहीबार ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीलाई अब राजनीतिमा आउन मिल्ने भनेर सदर गरिदिएको छ । ‘पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहनेगरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ,’ बैठकपछि महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भण्डारीको मनोनयनसँगै उपाध्यक्ष रामबहादुर थापाको वरीयताक्रम घटुवा भएको छ । यसअघि थापा वरीयताक्रममा ओलीपछि थिए । तत्कालीन नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थापाको नेतृत्वलाई नरुचाएको हुनाले भण्डारीलाई अघि बढाइएको बताइएको छ ।
ईश्वरसहित सात जना स्थायी कमिटीमा, ३३ जना केन्द्रीय कमिटीमा मनोनीत
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रत्यासी ईश्वर पोखरेलसहित सात जनालाई स्थायी कमिटीमा मनोनीत गरेका छन् । ईश्वर ११औं महाधिवेशनमा ओलीका प्रत्यासी थिए ।
त्यसैगरी प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, पूर्वसभामुख देवराज घिमिरे, शिवमाया तुम्वाहाङ्फे, लालबाबु पण्डित, थममाया थापालाई पनि स्थायी कमिटीमा मनोनीत गरेको छ । महासचिवको दाबी गरेका ज्ञवाली एमालेको ११औं महाधिवेशनमा अन्तिममा रुँदै केन्द्रीय सदस्यमा सीमित बनेका थिए । घिमिरे २०७९ देखि २०८२ सम्म सभामुख रहेकोमा प्रतिनिधिसभामा पराजित भएपछि राजनीतिबाट छायामा परेका थिए ।
बैठकले ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । यसरी केन्द्रीय कमिटीमा मनोनीत हुनेमा काशीनाथ अधिकारी–चितवन, देवराज घिमिरे– झापा, हरि रिजाल– प्यूठान, पासाङ शेर्पा–ताप्लेजुङ, नरेन्द्र भट्टराई– इलाम, नन्दराम देवकोटा– खोटाङ, धर्म गिरी– प्यूठान, नारायण घर्ती– जाजरकोट, विद्यासुन्दर शाक्य– काठमाडौं, शान्तिलाल महत– जुम्ला, पोल्तेनछेपाङ गुरूङ– मनाङ, प्रेम दंगाल– काठमाडौं, सुरेन्द्र उदास– भोजपुर, विनोद पाण्डे–काठमाडौं, पुष्पराज श्रेष्ठ– सिन्धुली, विमला घिमिरे– कपिलवस्तु, शिवमाया तुम्वाहाङ्फे– मोरङ, कौशिला खत्री– जाजरकोट, जानुका सिम्खडा– धादिङ, बिना बास्तोला– भक्तपुर रहेका छन् ।
त्यसैगरी पार्टीमा समायोजन भएर केन्द्रीय सदस्य हुनेमा मोहम्मद इस्तियाक राई– बाँके, प्रदीप यादव– पर्सा, अब्दुल हुसैन अंसारी–सुनसरी, डिबी कार्की–स्यांङ्जा, भवानी खापुङ–तेह्रथुम, दीपक साउद–अछाम, जय गोले (तामाङ)– काठमाडौं, धर्मराज निरौला– सुनसरी, रवि चामलिङ– खोटाङ, विनोद पहाडी– रुपन्देही, श्रीप्रसाद शर्मा–बागलुङ, रामप्रीत राम– सिरहा र ध्रुव विष्ट– भक्तपुर छन् ।
ओली र पौडेल पक्राउको विरोध
एमाले बैठकले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल पक्राउको विरोध जनाएको छ । ‘नयाँ सरकार बनेको केही घण्टा बित्दानबित्दै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रातारात गरिएको घर घेराउ र गिरफ्तारी एवं लगाउन खोजिएको मुद्दा राजनीतिक प्रतिशोध र मुलुकलाई मुठभेडतिर लैजाने दूषित मनशायको पराकाष्टा थियो । यो बैठक सरकारको उक्त प्रतिशोधी कुकृत्य र त्यसको केही समयपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गरिएको दुराशययुक्त गिरफ्तारीको निन्दा र भत्र्सना गर्दछ,’ निर्णयमा भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेलगत्तै गत चैत १४ गते ओली पक्राउ परेका थिए । त्यसैगरी गत असार ८ गते सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेल पक्राउ परेका थिए । बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।