काठमाडौं- भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू बिहीबार २८औँ दिनमा पनि निरन्तर जारी रह्यो।
यही क्रममा नुवाकोटको तुप्चे र देवीघाटका ८० परिवारलाई खाद्यान्न, ग्यास, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री वितरण गरिएको जानकारी दिएको छ। एनसिसी फिलिपिन्स र स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सको सौजन्यमा बाढीपहिरो प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराइएको हो।
स्थानीय जनप्रतिनिधिसँगको निरन्तर समन्वयपछि प्रभावित परिवारको आवश्यकताका आधारमा ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका सामग्री वितरण गरिएको संघको सचिवालयले जानकारी दिएको छ।
राहत कार्यक्रमअन्तर्गत प्रभावितहरूलाई ग्यास सिलिन्डर, प्रेसर कुकर, चुल्हो, पाइप, रेगुलेटर, क्लीप, कराई, थाल, डाडु, पन्यू, गिलास, कचौरा, चम्चा, जग र बाल्टिन लगायतका घरायसी तथा भान्साका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको छ। सामग्री वितरणमा संघका केन्द्रीय उपाध्यक्ष बुद्धि सागर सुवेदी, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक मनोज श्रेष्ठ एनसिसी नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, मध्यपूर्वका पूर्वउपसंयोजक धर्मराज गिरी र एनसिसी फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामालगायतको सहभागिता रहेको थियो।
यसैगरी बाढीबाट आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका प्रभावित परिवारलाई सहयोगस्वरूप ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको सचिवालयले जनाएको छ। आज एनआरएनए सचिवालयबाट उतरगया तथा विदुरका गरी २२ प्रभावित परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो।
बाढीबाट घर तथा आफन्त गुमाएका उनीहरू हाल काठमाडौं, नुवाकोटलगायतका स्थानमा कोठा वा घर भाडामा लिएर नयाँ बसोबासको तयारीमा रहेका छन्।
यसैबीच भोटेकोशी बाढीप्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको सचिवालयले जनाएको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कूल आठ करोड ७७ लाख २१ हजार रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल छ करोड एक लाख आठ हजार रुपैयाँ संकलन भएको छ।