काठमाडौं– नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
आगामी २०८३ मंसिर ६ गते (२२ नोभेम्बर २०२६) काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६, संस्कृतिमार्फत ऐक्यबद्धता’ आयोजना हुन लागेको हो।
‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा हुने यस महोत्सवले नेपाली तथा जापानी संगीत, कला–संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी मित्रता, सद्भाव र ऐक्यबद्धतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
चार दशकपछि जापानी ब्याण्ड ‘गोडिगो’ को पुनरागमन
महोत्सवको मुख्य आकर्षणका रूपमा प्रख्यात जापानी संगीत ब्याण्ड गोडिगोको विशेष सांगीतिक प्रस्तुति रहने छ। सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक कन्सर्ट गरेको चार दशकभन्दा बढी समयपछि यो ब्याण्ड पुनः नेपाल फर्कन लागेको हो। उनीहरूको यो पुनरागमनले दुई देशबीचको लामो सांस्कृतिक सम्बन्धमा एक महत्त्वपूर्ण एवं प्रतीकात्मक आयाम थप्ने विश्वास गरिएको छ।
महोत्सवमा गोडिगोका साथै नेपालका ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने छ। साथै, दुवै देशको प्रतिनिधित्व हुने विविध सांस्कृतिक, पर्यटकीय तथा व्यापारिक स्टल र प्रदर्शनीहरूसमेत समावेश गरिने छ।
बचत रकम बाढीपीडित उद्धार कोषमा दिइने
हालै भोटेकोशी नदीमा आएको बाढीका कारण सिर्जित विषम परिस्थितिलाई ध्यानमा राख्दै आयोजकले सामाजिक उत्तरदायित्वसमेत वहन गर्ने भएको छ। कार्यक्रम सञ्चालनको आवश्यक खर्च कटाएर संकलन हुने सम्पूर्ण बचत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने जनाइएको छ।
यस महोत्सवले पर्यटन प्रवर्द्धनका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई थप उजागर गर्दै देशको आर्थिक पुनरुत्थानमासमेत सकारात्मक टेवा पुर्याउने अपेक्षा सचिवालयले लिएको छ।