काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको जग मानिएको वडा अधिवेशन अधिकांश स्थानमा उत्साहप्रदरुपमा सकिएको छ । कांग्रेस निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबार र आइतबार गरी देशभरका छ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको हो ।
दुई दिनमा ७३ जिल्लाका ती वडाहरुमा अधिवेशन भएको र बाँकी क्षेत्रमा आज पनि अधिवेशन जारी रहने कटुवालले बताए । ‘असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन दोस्रो दिन असोज ४ गते पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ । रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी छुट भएका सम्पूर्ण वडा अधिवेशनलगायतको वडा अधिवेशन असोज ५ गते सोमबार पनि जारी रहने छ,’ सदस्यसचिव कटुवालले भने ।
देशभर छ हजार ७४३ वडा रहेकोमा कांग्रेसले अब ६११ वडामामात्र अधिवेशन गर्न बाँकी छ । यो भनेको झण्डै ९१ प्रतिशत अधिवेशन सम्पन्न भएको हो । निर्वाचन समितिका अनुसार सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा पर्ने वडामा अधिवेशन हुन बाँकी छ ।
भोटेकोशी बाढीले प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने अधिवेशनको मिति तोकिएको छैन । कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ ।
कहाँ–कहाँ भयो वडा अधिवेशन ?
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक), सुनसरीमा वडा अधिवेशन सम्पन्न भएको छ । मोरङ क्षेत्र ६ कांग्रेस नेता डा. शेखर कोइराला र सहमहामन्त्री डिला संग्रौलाको हो । शेखर कसैलाई बाहिर राखेर हुने कुनै महाधिवेशनमा सहभागी नहुने भनेर तटस्थ छन् ।
कोइरालाको विराटनगर महानगरपालिका वडा नम्बर ७ हो भने संग्रौलाको वडा नम्बर ११ हो । सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौंमा पनि वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा भने देउवा समूहका नेताले दिनेश श्रेष्ठलाई कुटपिट गरेका छन् । कुटपिटबाट उनी सामान्य घाइते भएका छन् ।
गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि वडा अधिवेशन सम्पन्न भएको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन गर्न तयारी गरिरहेको पूर्वसभापति शेरबहादुर देउवा समूहका कमाण्डर देउवाका गृहवडामा पनि वडा अधिवेशन भएको छ । उनको जिल्ला डडेलधुराको गन्यापधुरा वडा नम्बर १ मा वडा अधिवेशन भए पनि वडा सभापति भने चयन भएको छैन । पालिकाको वडा नम्बर २ बाहेक सबैमा वडा अधिवेशन भएको छ ।
खड्का ढल्किए देउवातिरै
कांग्रेस मिलाउन सक्रिय रहेको भनिएका पूर्वउपसभापति पूर्णबहादुर खड्का अधिवेशनको पूर्वसन्ध्यामा सभापति गगन थापातिर ढल्किएका छन् । खड्काले संस्थापन पक्षको अधिवेशनमा आफ्नो कतै सहभागिता नरहने बताएका छन् ।
‘सम्बन्धित सबैमा प्रस्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन । रहने छैन,’ खड्काले भनेका छन्, ‘हाल सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रस्ट पार्न चाहन्छु ।’
कुनै चमात्कार भएमात्र कांग्रेस जुट्ने नभए कांग्रेस फुटिसकेको खड्काले दाबी गरेका छन् । ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ । हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौ,’ खड्काले भने ।