काठमाडौं– इतर पक्षको मागलाई बेवास्ता गर्दै महाधिवेशन गर्न गगन थापा नेतृत्वको कांग्रेस अघि बढेपछि पूर्वसभापति शेरबहादुर देउवा आक्रोशित बनेका छन् । देउवाले मंगलबार दिउँसो एक वक्तव्यमार्फत संस्थापन पक्षले असोजबाट महाधिवेशन थाले आफू मुकदर्शक भएर नबस्ने चेतावनी दिए ।
पर्याप्त समय हुँदाहुँदै सहमतिविनै सभापति थापा अघि बढ्न खोजेको देउवाको आरोप छ । ‘नेपाली कांग्रेसको विधान र नेपालको संविधानबमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमतिबेगर हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्नेगरी अवैधानिकरूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाले भनेका छन् ।
संस्थापनपक्षले असोज १६ गते खुल्लमञ्चमा १५औं महाधिवेशनको उद्घाटन गर्दै छ । यसका लागि असोज ३ बाट वडा अधिवेशन सुरु गर्दै छ । देउवा समूहले भने पूर्वसभापति देउवाको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको छ ।
संस्थापनपक्ष भने देउवाको नेतृत्वमा महाधिवेशनमा जाँदा विशेष महाधिवेशन ‘कोल्याप्स’ हुने त्रासमा देखिन्छ । त्यसैले पनि सभापति थापा असोज १६ मै महाधिवेशन गर्ने पक्षमा छन् । देउवाको विज्ञप्ति आएसँगै सभापति थापाले पनि मंगलबार साँझ विज्ञप्ति जारी गर्दै असोज १६ गतेकै महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन् ।
देउवाले विज्ञप्तिमार्फत आफ्नै नेतृत्वमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औं महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।
देउवाले संस्थापनपक्षले आयोजना गरेको महाधिवेशनमा भाग नलिनसमेत अपिल गरेका छन् । देउवाले इतरपक्षले तोकेको मंसिर २१, २२ र २३ गतेको महाधिवेशनमामात्र भाग लिन आग्रह गरेका छन् ।
संस्थापनपक्ष भने देउवाको नेतृत्वमा महाधिवेशनमा जाँदा विशेष महाधिवेशन ‘कोल्याप्स’ हुने त्रासमा देखिन्छ । त्यसैले पनि सभापति थापा असोज १६ मै महाधिवेशन गर्ने पक्षमा छन् । देउवाको विज्ञप्ति आएसँगै सभापति थापाले पनि मंगलबार साँझ विज्ञप्ति जारी गर्दै असोज १६ गतेकै महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । थापाले विशेष महाधिवेशन बहिष्कार गरेका १४औं महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सबै जना केन्द्रीय सदस्य सुनिश्चित भइसकेको अवस्थामा अलमलमा नपरी महाधिवेशनमा भाग लिन आग्रह गरे ।
‘तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य साथीहरू वर्तमान केन्द्रीय कार्यसमितिको पनि सदस्य सुनिश्चित भइसकेकोले १५औं महाधिवेशनको यो प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा नै सहभागी हुने हुँदा कुनै पनि अलमल एवं द्विविधामा नपरी असोज ३ र ४ गतेको वडा अधिवेशनलगायतका अन्य तहका निर्धारित कार्यतालिकाबमोजिमका अधिवेशनहरूमा सहभागी हुन विशेष आग्रह गर्दछु,’ गगनले भनेका छन्, ‘असोज ३ गते वडाबाट प्रारम्भ भइ १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा सम्पन्न हुने १५औं महाधिवेशनमा सबै तहका कार्यसमितिले पार्टीको वृहत्तर हितलाई ध्यानमा राखी सोहीअनुसार सौहाद्र्रपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागिता गराई महाधिवेशन सम्पन्न गर्न र उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण तहगत कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक र शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछु ।’
यसअघि कडा रुपमा प्रस्तुत हुँदै आएका गगन यसपटकको विज्ञप्तिमा निकै नरम देखिएका छन् । थापाले पार्टीभित्र मतभेद हुनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् । ‘लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुनसक्छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्दतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गरेर विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहदै आएको छ । त्यही जिम्मेवारीबोधका साथ वर्तमान कार्यसमितिले समस्त कांग्रेसजनको मनोभावना अनुसार पटक–पटक संवादमार्फत सहमतिका सबै विकल्प स्वीकार गरेर सहभागिताको प्रयास गरेको हो ।’
खड्का समूह गगनसँग सशंकित
केन्द्रीय समिति सदस्य पाउने भएसँगै कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्का समूहबाट ३१ जना संस्थापन पक्षमा आउने भनिएको थियो । तर केन्द्रीय सदस्य उधारो भएको भन्दै उनीहरु संस्थापनसँग सशंकित बनेका छन् ।
देउवा समूहबाट गगन पक्षमा जान नेतृत्व गरेका नेता श्याम घिमिरे कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयमा आफूहरूलाई शंका लागेको बताए । ‘हाम्रा मागलाई पूरा तोडमोड गरियो । किनकि, निर्णय हामीले भनेजस्तो भएन । सामूहिक छलफलपछि एउटा निर्णयमा पुग्छौं,’ घिमिरेले भने ।
सानेपामा आइतबार नै खड्का समूह पुग्ने भनिए पनि मंगलबारसम्म उनीहरु जुट्न सकेका छैनन् । ३१ जनाको यो समूह आधी गगनतिर आधी देउवातिर लाग्ने एक नेताले बताए ।