काठमाडौं - नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’प्रति तिखो व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बास्कोटाले बादललाई तत्कालीन माओवादीको ‘चुनवाङ बैठक’को झल्कोले सताएको दाबी गरेका हुन्।
त्यस्तै, उनले एमालेका पूर्वसांसदहरू अझै पनि प्रतिनिधिसभा पुनःस्थापनाको धुनमा रहेको र प्रचण्ड जित्ने चुनावी क्षेत्र सकिएपछि नयाँ ‘आकाशे क्षेत्र’को खोजीमा लागेको भन्दै कटाक्ष गरेका छन्।
सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, “नोष्टाल्जिक आनन्द ! बादललाई एमालेमा चुनवाङ बैठकको झल्कोले सताउनु, एमालेकै भूतपूर्व सांसदले प्रतिनिधिसभा पुनःस्थापित भएको सम्झनु र प्रचण्डको जित्ने क्षेत्र सकिएकाले आकाशे क्षेत्रको खोजीमा पस्नु। सपना देख्न देऊ- हठात् नब्यूँझाऊ कसैले !”
राजनीतिक परिवेशमा देखिएका पछिल्ला उतारचढाव र नेताहरूको अभिव्यक्तिलाई लक्षित गर्दै बास्कोटाले यो व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्।