काठमाडौं- नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले संयोजक रामबहादुर थापा ‘बादल’ले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने भएको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा कार्यदलका संयोजक थापाले दुई वटा प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले कार्यदलका सदस्यसचिव एवं एमाले महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनसँगै आफ्नो छुट्टै प्रतिवेदन कार्यदलमा पेस गरेका थिए।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले ती दुवै प्रतिवेदनलाई समेटेर एउटै बनाउने निर्णय भएको जानकारी दिए।
‘बैठकले आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ उनले भने।
दुवैलाई समेटेर बनाएको प्रतिवेदन एमाले सचिवालयमा पेस गरिने उनले बताए।
महासचिव पोखरेलले पेस गरेको प्रतिवेदनमा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने उल्लेख छ।
उपाध्यक्ष एवं कार्यदल संयोजक थापाले ओलीले अध्यक्षबाट राजीनामा दिनु नपर्ने भन्दै छुट्टै प्रतिवेदन पेस गरेका थिए।