काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका हुन् ।
सभापति थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने भन्दै महाधिवेशनको तिथीमिति तलमाथि नहुने बताए । संविधान र पार्टीको विधानअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न हुने उनको भनाइ थियो ।
सभापति थापाले पार्टीको महाधिवेशन र चाडपर्वपछि कांग्रेस ७७ वटै जिल्ला र गाउँगाउँ पुग्ने बताए । सबैले पार्टीको महाधिवेशनमा भाग लिने उनले बताए । “पार्टी एकताबद्ध बनाउने ठाउँमा नरम हुने हो, पार्टीभित्रको फोहर सफा गर्ने कुरामा निर्मम हुने हो,” उनले भने ।
सभापति थापाले गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिक जीवनका लागि प्रेरणाका स्रोत भएको र २०४६ सालपछिको राजनीतिक पुस्ताका लागि उहाँ सधैँ मार्गदर्शक रहेको बताए । उनले विशेष महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउने सन्दर्भमा कांग्रेस नेत्री सुजाता कोइरालाले देखाएको उदारता र सहयोगको प्रशंसा गरे ।
कांग्रेस नेत्री कोइरालाले पार्टी र युवा नेतृत्वप्रति देखाएको विश्वास र अभिभावकत्वका लागि सभापति थापाले धन्यवाद दिए । उनले बिपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको साङ्गठनिक सुदृढीकरणलाई आत्मसात् गर्दै पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अपनाएको आर्थिक उदारीकरण र खुला बजार नीतिले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुगेको सभापति थापाले बताए । “विसं २०४८ देखि २०५१ सालसम्मको गिरिजाबाबुको सरकार नेपालको आर्थिक विकासको ‘स्वर्ण युग’ हो, उक्त समयमा नेपालले जलविद्युत्, दूरसञ्चार, बैंकिङ, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा फड्को मारेको छ,” उनले भने ।
गिरिजाबाबुले लिएको उदार अर्थतन्त्रको बाटोका कारण देश विकासको बाटोमा अगाडि बढेको भन्दै सभापति थापाले गिरिजाबाबुको ‘इकोनोमी पोलिसी’को बारेमा फाउण्डेशनले आगामी दिनमा अध्ययन अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
फाउण्डेशनकी अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले १६ वर्ष फाउण्डेशनको अध्यक्ष भएर सामाजिक क्षेत्रमा आफू क्रियाशिल रहेको बताइन् । संस्थालाई अगाडि बढाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । उनले फाउण्डेशनका अध्यक्षका रुपमा १६ वर्षपछि पूर्वसांसद एवं समाजसेवी डा सुनिल शर्मालाई पद हस्तान्तरण गरिन् । कोइरालाले गिरिजाप्रसाद कोइरालालाई कृष्ण सेनमार्फत तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटाउन पार्टीका पूर्वसांसद एवं सामाजिक व्यक्तित्व डा शर्माले खेलेको भूमिका स्मरण गरिन्।
फाउण्डेशनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कोइरालाको भनाइ थियो । नेत्री कोइरालाले जनआन्दोलनका समयमा वर्तमान कांग्रेस सभापति गगनकुमार थापाले खेलेको भूमिकाको उच्च प्रशंसा गरिन् ।फाउण्डेशनका नवनियुक्त अध्यक्ष डा शर्माले फाउण्डेशनलाई थप उचाईमा पुर्याउन आफू सक्रिय भएर लाग्ने बताए । गिरिजाबाबुको कारणले निजी क्षेत्रले मेडिकल कलेज खोल्न पाउने व्यवस्थाको सुरुआत भएको उनले स्मरण गरे । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आगामी एक वर्षमा पैसाको अभाव भएका एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा शर्माले घोषणा गरे ।
फाउण्डेशनका सदस्य अजयकुमार राईले सन् २०११ मा स्थापना भएको फाउण्डेशनले विभिन्न सामाजिक काम गर्दै आएको जानकारी दिए। फाउण्डेशनका अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकमा बृहत् शान्ति सम्झौता स्थापना गर्न गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे र फाउण्डेशनका रिसर्च डाइरेक्टर डा तारा बन्जाडेलाई सम्मान गरिएको थियो ।