काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उनले बताएका हुन् ।
उनले सङ्कटको समयमा सरकार जनताको साथमा हुनुपर्ने बताए । “भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनारिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ”, संयोजक दाहालले भने, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन गर्नुपर्छ ।” उनले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई पनि विपद्को अवस्थामा थप क्रियाशील बनाइनुपर्नेमा जोड दिए ।
विसं २०७२ को भूकम्पलगायत राष्ट्रिय सङ्कटको घडीमा विपक्षीका रूपमा आफूहरूले सरकारलाई साथ दिएको स्मरण गर्दै संयोजक दाहालले बाढीपश्चात खोज, उद्धार र राहत वितरणमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताए ।
“बाढीपछिको उद्धारमा कमिकमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ, राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनःनिर्माणमा सरकारका गम्भीर बन्नुपर्छ”, संयोजक दाहालले भने, “राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने सरकारलाई अवसर छ, यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्छ ।”
संयोजक दाहालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए ।