काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।'
प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरेका छन् । 'हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञाशा उठेको छ, विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ, त्यसैले यस क्षेत्र अझ सचेत हुनैपर्छ,' उनले भनेका छन्, 'हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ । हिउँ चट्टान किन खस्यो ? यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ ।'


हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री शाहको भनाइ छ । 'विज्ञहरू भन्नुहुन्छ, भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिङ्गै भाग ठूलो उचाइबाट खस्दा ठूलो ऊर्जासहित खसेको हुनसक्छ र खसेकै ठाउँमा पग्लिन सुरु गरी निरन्तर पग्लिँदै ठूलो बाढीको रूप लिएको हुनसक्छ । हिमालयको उचाइबाट नेपालतर्फको भूमि ओरालो लाग्दै गएकाले बाढीले थप लिँदै सो क्षेत्र क्षतविक्षत पारेको छ,' प्रधानमन्त्री शाहले भनेका छन् ।
उनले विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनःस्थापनातर्फ अग्रसर भइरहेको समेत उल्लेख गरेका छन् । साथै प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्दै उनहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनःस्थापनातर्फ लागेको उनको भनाइ छ । उनका अनुसार बाढी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरणकार्य जारी छ । नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरेका छन् । रसुवाका प्रभावितहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ ।
प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तरराष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गरेका छन् ।