मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष मिडवाइफ (प्रसूति स्याहारकर्ता) को सङ्ख्या बढ्दै गएको छ । यद्यपि, यस क्षेत्रमा पुरुष मिडवाइफ अझै पनि निकै कम रहेका छन् । दक्षिणी अफ्रिकी मुलुक लेसोथोका न्ट्लहाने सेहलोहो करिब ३०० पुरुष मिडवाइफमध्ये एक छन् । उनले विगत दुई दशकदेखि ग्रामीण क्षेत्रमा गर्भवती महिलालाई प्रसूतिपूर्व तथा प्रसूतिसम्बन्धी सेवा दिँदै आएका छन् ।
लेसोथोमा परम्परागत रूपमा मिडवाइफको काम महिलाको पेसाका रूपमा लिइन्थ्यो । तर ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव र उच्च मातृमृत्युदरका कारण सरकारले पुरुष नर्सलाई समेत मिडवाइफको तालिम दिन थालेको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार लेसोथोमा प्रत्येक एक लाख जीवित जन्ममा करिब ५३० महिलाको मृत्यु हुने गरेको छ, जुन विश्वको औसत करिब २०० भन्दा निकै बढी हो । युनिसेफका अनुसार अहिले लेसोथोमा ९२ प्रतिशत प्रसूति सेवा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रदान हुँदै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभरका मिडवाइफमध्ये पुरुषको हिस्सा एक प्रतिशतभन्दा कम छ । डब्लुएचओ र युनिसेफले प्रसूति सेवामा जनशक्तिको अभाव पूरा गर्न महिला र पुरुष दुवैलाई यस क्षेत्रमा आउन प्रोत्साहित गर्दै आएका छन् । लेसोथोको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवाका कार्यवाहक निर्देशक डा ल्याङ मामाका अनुसार पुरुष मिडवाइफप्रति केही महिलामा अझै हिचकिचाहट भए पनि समुदायले विस्तारै स्वीकार गर्दै गएको छ । महिलाले असहज महसुस गरेमा महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।

सेहलोहोले पनि पुरुष मिडवाइफका लागि महिलाको विश्वास जित्नु महत्त्वपूर्ण रहेको बताए । ग्रामीण परिवेशमा आफू पनि हुर्किएको र महिलाले भोग्ने कठिनाइ बुझेको बताउँदै उनले बिरामीलाई सहज महसुस गराउने प्रयास गर्दै आएको बताए । युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए) की प्रतिनिधि ब्लान्डिना मोटाउङले पुरुष मिडवाइफप्रति मिश्रित प्रतिक्रिया भए पनि कतिपय महिलाले उनीहरूको सावधानीपूर्ण र संवेदनशील व्यवहारको प्रशंसा गर्ने गरेको बताए। लेसोथोका केही महिला भने महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सहज मान्छन् भने केहीले पुरुष मिडवाइफबाट उपचार गराउन कुनै समस्या नरहेको बताएका छन् ।